पर्सा पोस्ट , जेष्ठ ०४ गते , काठमाडौं । नेपाली साहित्य, संगीत तथा बहुआयामिक सिर्जनाका अथक साधक डा. डीआर उपाध्याय को नयाँ कवितासंग्रह ‘अन्तस्करण’ काठमाडौंमा एक विशेष समारोहबीच लोकार्पण गरिएको छ। साहित्यिक पत्रकार संघ र मिलाप मासिक को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रम केवल पुस्तक विमोचनमा सीमित नभई समकालीन नेपाली साहित्यको भावधारा, संवेदना र सिर्जनामाथिको गम्भीर विमर्शको सशक्त मञ्चका रूपमा स्थापित भएको थियो।
वरिष्ठ साहित्यकार राधेश्याम लेकाली को अध्यक्षता तथा सांसद राजीव खत्री को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पूर्वसांसद तथा कवि रेखा यादव, वरिष्ठ इतिहासविद् सुरेन्द्र केसी, वरिष्ठ साहित्यकार प्रा. पुरुषोत्तम दाहाल, महाकाव्यकार खेमनाथ दाहाल, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, पूर्वअध्यक्ष चूडामणि देवकोटा, खनाल सेवा समाजका महासचिव माधव खनाल, अनेसासका केन्द्रीय सदस्य तारा उप्रेति, मिलापका अध्यक्ष कृष्ण भुसाल तथा नरेश भट्टराई लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि सांसद राजीव खत्रीले डा. उपाध्याय नेपाली साहित्य, संगीत तथा सिर्जनात्मक क्षेत्रका अथक साधक भएको उल्लेख गर्दै उनको लेखन केवल शब्दहरूको संयोजन नभई समाजप्रतिको जिम्मेवारीबोध, मानवीय चेतना र राष्ट्रप्रतिको सेवाभावको गहिरो अभिव्यक्ति भएको बताए। उनले संग्रहभित्रको एक कविता वाचन गर्दा सभाहल केही समय साहित्यिक भावनाले मन्त्रमुग्ध बनेको थियो।
समारोहमा प्रमुख अतिथि तथा उपस्थित अतिथिहरूले सामूहिक रूपमा ‘अन्तस्करण’ को लोकार्पण गरेका थिए। वक्ताहरूले उक्त कृतिलाई समकालीन नेपाली समाजको भावनात्मक दस्तावेजका रूपमा व्याख्या गर्दै डा. उपाध्यायले समयको बेचैनी, मानवीय सम्बन्धको जटिलता, सामाजिक यथार्थ, प्रेम, संघर्ष, आशा, आत्मसंवाद तथा जीवनका सूक्ष्म अनुभूतिहरूलाई कलात्मक र संवेदनशील ढंगले प्रस्तुत गरेको बताएका थिए।
अधिकांश वक्ताहरूले १५३ विश्व कीर्तिमान कायम गरेर डा. उपाध्यायले नेपालको सिर्जनात्मक क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराएको उल्लेख गर्दै उनलाई नेपाली सर्जनात्मक क्षेत्रको प्रेरणादायी व्यक्तित्वका रूपमा चित्रण गरेका थिए।
कार्यक्रममा कविद्वय सुमन थापा संगम र शोभा अधिकारी ले संग्रहबाट कविता वाचन गरेका थिए। कविता वाचनका क्रममा उपस्थित श्रोताहरू भावुक र गम्भीर बनेका थिए। कविताका हरफहरूमा धेरैले आफ्नै समय, समाज र व्यक्तिगत अनुभूतिहरूको प्रतिबिम्ब महसुस गरेका थिए।
यस अवसरमा ‘अन्तस्करण’को भूमिका लेखक प्रा. पुरुषोत्तम दाहाल, महाकाव्यकार खेमनाथ दाहाल तथा स्रष्टा डा. डीआर उपाध्यायलाई विशेष सम्मान प्रदान गरिएको थियो। साथै प्रमुख अतिथि सांसद राजीव खत्रीलाई पनि बधाई तथा सम्मान अर्पण गरिएको थियो।
कार्यक्रममा बोल्दै डा. उपाध्यायले साहित्य आत्माको आवाज भएको उल्लेख गर्दै ‘अन्तस्करण’ आफ्ना अनुभूति, भोगाइ, संघर्ष र समाजप्रतिको संवेदनशील दृष्टिको अभिव्यक्ति भएको बताए। उनले सिर्जनाले मानिसलाई अझ मानवीय बनाउने विश्वास व्यक्त गर्दै साहित्य समाजलाई जोड्ने सबैभन्दा सुन्दर माध्यम भएको धारणा राखे।
समापन मन्तव्यमा सभाध्यक्ष राधेश्याम लेकालीले डा. उपाध्यायको व्यक्तित्व र कृतित्व नेपाली साहित्यका लागि प्रेरणाको स्रोत भएको उल्लेख गर्दै ‘अन्तस्करण’ नेपाली कविताको समकालीन यात्रामा अर्थपूर्ण कृतिका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे।
मिलाप पब्लिकेशन द्वारा प्रकाशित २९९ पृष्ठको यस कवितासंग्रहमा ७९ वटा कविता समावेश छन्। जीवन, समाज, समय र संवेदनाको गहिरो संवाद बोकेको ‘अन्तस्करण’ले नेपाली पाठकमाझ नयाँ चेतना, आत्मअनुभूति तथा साहित्यिक बहसको वातावरण सिर्जना गर्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।
डा. उपाध्यायका यसअघि १७ उपन्यास, तीन गीति पुस्तक, करिब २५० गीत तथा १५० भन्दा बढी गीतका भिडियो सार्वजनिक भइसकेका छन्। उनले गीतसंगीत तथा विविध सिर्जनात्मक विधामा १५३ विश्व कीर्तिमान कायम गरिसकेका छन्।
मिलापका अध्यक्ष कृष्ण भुसालले स्वागत मन्तव्य राखेको तथा नरेश भट्टराईले सहजीकरण गरेको उक्त समारोहमा करिब एक सय विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।