पर्सा पोस्ट , बैशाख २९ गते , वीरगञ्ज ।
नेपाल नेत्रज्योति संघ पर्साको आयोजनामा वीरगञ्जस्थित श्री दीपनारायण आदर्श नमूना माध्यमिक विद्यालयमा निःशुल्क आँखा परीक्षण, चश्मा तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थी तथा शिक्षकहरूको आँखासम्बन्धी स्वास्थ्य परीक्षण गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त शिविरबाट सयौं व्यक्ति लाभान्वित भएका छन्।
कार्यक्रमको सभापतित्व नेपाल नेत्रज्योति संघ पर्साका सभापति भगवती चौधरीले गरेका थिए भने प्रमुख अतिथिका रूपमा संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्यामकुमार पोखरेलको उपस्थिति रहेको थियो। प्रमुख अतिथि पोखरेलले विद्यार्थीहरूलाई चश्मा तथा उपचारसम्बन्धी पर्चा हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए।
शिविरमा विद्यालयका विद्यार्थी र शिक्षक गरी करिब ५१५ जनाको आँखा परीक्षण गरिएको आयोजकले जनाएको छ। परीक्षणका क्रममा आवश्यकताअनुसार निःशुल्क औषधि तथा चश्मासमेत वितरण गरिएको थियो।
कार्यक्रमपछि विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरूले नेपाल नेत्रज्योति संघ परिवारप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमले विद्यार्थीहरूको स्वास्थ्य सचेतना बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।
विद्यालय व्यवस्थापन समितिका सदस्य राजन श्रीवास्तवले यस्ता स्वास्थ्य शिविरले विद्यार्थीहरूलाई समयमै उपचार तथा परामर्श प्राप्त गर्न सहज वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे।