पर्सा पोस्ट | बैशाख ०३ गते | विराटनगर
मोरङ प्रहरीले विराटनगरबाट भारतबाट भन्सार छली गरी अवैध रूपमा भित्र्याइएको ११ लाख रुपैयाँभन्दा बढी मूल्यको सामान बरामद गरेको छ। आइतबार दिउँसो र राति गरिएको विशेष निगरानीका क्रममा कपडा तथा हरियो मटर बरामद गरिएको हो।
प्रहरीका अनुसार तस्करीमा प्रयोग गरिएका को २ ह ३२४५ र को २ ह ३५८९ नम्बरका दुईवटा टेम्पोलाई विराटनगर महानगरपालिका–६ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। शंकास्पद अवस्थामा रहेका ती सवारीसाधनलाई जाँच गर्दा बिलबिनाका कपडा र हरियो मटर फेला परेको मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।
प्रहरीले रोक्नासाथ टेम्पो चालकहरू सवारीसाधन छाडेर फरार भएका थिए। फरार चालकहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
बरामद गरिएको सामानमा कुर्ता–सलवार, लेडिज टप्स, बालबालिका तथा पुरुषका विभिन्न प्रकारका लत्ताकपडासँगै हरियो मटर रहेको छ। ती सामानसहित नियन्त्रणमा लिइएका टेम्पोको कुल अन्दाजी मूल्य ११ लाख ११ हजार ५ सय ५५ रुपैयाँ रहेको प्रहरीले जनाएको छ। टेम्पोको मूल्य मात्रै करिब ३ लाख रुपैयाँ आँकलन गरिएको छ।
नियन्त्रणमा लिइएका सवारीसाधन र सामान आवश्यक अनुसन्धान तथा कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ।
यसैबीच, मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले नेपाल–भारत सीमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणलाई उच्च प्राथमिकतामा राखिएको बताएका छन्। उनले मातहतका सबै प्रहरी युनिटलाई कडाइका साथ निगरानी र कारबाही गर्न निर्देशन दिइएको जानकारी दिए।
“तस्करी नियन्त्रणमा कुनै सम्झौता हुँदैन,” उनले भने, “सशस्त्र प्रहरीसहित सम्बन्धित निकायसँग समन्वय गरेर निगरानी, चेकजाँच र सूचनाको आधारमा कारबाहीलाई थप तीव्र बनाइएको छ।”
प्रहरीका अनुसार चालु अभियान अन्तर्गत चैत महिनामा मात्रै १ करोड ५५ लाख ४५ हजार २०८ रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको छ। सो अवधिमा मोटर पार्ट्स, खाद्यान्न, लत्ताकपडा, हार्डवेयर सामग्री, पेय पदार्थ, मरिच र हल्दी लगायतका वस्तु जफत गरिएको थियो।
तस्करीमा संलग्न ६ जनालाई नियन्त्रणमा लिनुका साथै ११ वटा सवारीसाधन समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले सीमा क्षेत्रमा गस्ती बढाउनुका साथै शंकास्पद गतिविधिमाथि कडा निगरानी, प्रविधिको प्रयोग, स्थानीय बासिन्दा तथा जनप्रतिनिधिसँग सहकार्य र सूचनाका आधारमा छापामार अभियानलाई तीव्र बनाएको जनाएको छ।
अवैध ओसारपसार सम्बन्धी कुनै सूचना भए तत्काल प्रहरीलाई खबर गर्न सर्वसाधारणसँग आग्रह गरिएको छ।