पर्सा पोस्ट, चैत २५ गते, वीरगञ्ज ।
आमसञ्चार प्राधिकरणको आयोजनामा मधेस प्रदेशमा दर्ता भएका अनलाइन सञ्चारकर्मीहरूका लागि सञ्चालन गरिएको दुई दिने समाचार लेखन तथा सम्पादन तालिम बुधबार धनुषाको धल्केवरस्थित कोमल होटेलमा सम्पन्न भएको छ।
प्रदेशका आठवटै जिल्लाबाट सहभागी सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न उक्त तालिमले पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्य लिएको थियो। तालिममा करिब ६० जना सञ्चारकर्मीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।
तालिमको उद्घाटन मधेस प्रदेशका अर्थमन्त्री महेश यादवले दीप प्रज्वलन गरी गरेका थिए। उद्घाटन मन्तव्य दिँदै उनले अनलाइन सञ्चारमाध्यमहरूले सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्दै समाजको ऐनाका रूपमा जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
उद्घाटन सत्र मिडिया काउन्सिल मधेस प्रदेशका अध्यक्ष सुरेश यादव तथा आमसञ्चार प्राधिकरणका अध्यक्ष जीतेन्द्रकुमार खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्राधिकरणका निमित्त प्रशासकीय प्रमुख सन्तोषकुमार साहलगायतका पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
तालिमको पहिलो र दोस्रो दिन नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झा र प्रशिक्षक कृष्ण अधिकारीले सहजीकरण गरेका थिए। प्रशिक्षणका क्रममा अनलाइन पत्रकारिताको बढ्दो प्रभाव, समाचार सङ्कलनका आधुनिक विधि, सम्पादनका प्राविधिक पक्ष, पत्रकारिता आचारसंहिता, समाचारको संरचना तथा प्रभावकारी हेडलाइन लेखनका विषयमा विस्तृत जानकारी दिइएको थियो।
यसैगरी डिजिटल प्लेटफर्ममा समाचारको विश्वसनीयता कायम राख्ने उपायहरूबारे पनि सहभागीहरूलाई व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो। सहभागी सञ्चारकर्मीहरूले यस्ता तालिमले आफ्नो पेशागत सीप तथा क्षमतामा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरेका छन्।
मधेस प्रदेशमा हाल १०४ वटा अनलाइन सञ्चारमाध्यम दर्ता रहेका छन्। तालिम समापनपछि सहभागी सबै सञ्चारकर्मीहरूलाई प्रमाणपत्र वितरण गरिएको आयोजकले जनाएको छ ।