पर्सा पोस्ट, चैत २५ गते, वीरगञ्ज ।
हरि खेतान बहुमुखी क्याम्पस, वीरगञ्जमा क्याम्पस प्रमुख पदमा किशोरी रायको पुनरागमनसँगै क्याम्पसमा नयाँ उत्साह र सकारात्मक वातावरण सिर्जना भएको छ। निलम्बन फुकुवा भएसँगै उहाँ पुनः प्रमुखको जिम्मेवारी सम्हाल्न फर्किनु भएको हो।
क्याम्पस व्यवस्थापन समितिको मिति २०८२ साल चैत २४ गते बसेको बैठकले यसअघि गरिएको छानबिन प्रक्रिया सम्पन्न भइसकेको ठहर गर्दै उहाँमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो। यसअघि २०८२ असोज २९ गतेको निर्णयअनुसार उहाँलाई छानबिनका लागि निलम्बनमा राखिएको थियो।
समितिको निर्णयअनुसार किशोरी रायलाई पुनः क्याम्पस प्रमुखको पदमा रही जिम्मेवारी सम्हाल्न निर्देशन दिइएको छ। सोही निर्णयका आधारमा उहाँले क्याम्पसमा हाजिर भई नियमित प्रशासनिक तथा शैक्षिक कामकाज सुरु गरिसक्नुभएको जनाइएको छ।
क्याम्पस स्रोतका अनुसार, नेतृत्व पुनः स्थिर बनेसँगै रोकिएका विभिन्न शैक्षिक कार्यक्रमहरू पुनः सञ्चालनमा आउने तयारी भइरहेको छ। परीक्षा, नतिजा प्रकाशन, भर्ना प्रक्रिया तथा अतिरिक्त क्रियाकलापहरूलाई व्यवस्थित रूपमा अघि बढाउने योजना बनाइएको छ।
उहाँको पुनरागमनसँगै क्याम्पसको शैक्षिक तथा प्रशासनिक गतिविधि पुरानो लयमा फर्किने विश्वास गरिएको छ। विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूमा सकारात्मक सन्देश प्रवाह भएको देखिएको छ भने समग्र शैक्षिक वातावरण सुधार हुने अपेक्षा गरिएको छ।
विद्यार्थीहरूले किशोरी रायको पुनः आगमनप्रति खुशी व्यक्त गर्दै क्याम्पसमा अनुशासन, गुणस्तर र व्यवस्थापन अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।
क्याम्पस प्रशासनले आगामी दिनमा पारदर्शिता, उत्तरदायित्व र गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्दै अघि बढ्ने जनाएको छ। यस घटनालाई क्याम्पसका लागि “नयाँ युगको नयाँ सुरुवात” का रूपमा हेरिएको छ, जहाँ स्थायित्व र विकासतर्फ पुनः अग्रसर हुने संकेत देखिएको छ।