पर्सा पोस्ट, चैत १९ गते, वीरगंज।
वीरगंज महानगरपालिका, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर तथा सशस्त्र प्रहरी बल नेपालको संयुक्त आयोजनामा मितेरी पुल क्षेत्रमा बृहत् वृक्षरोपण, सरसफाइ तथा रोपिएका बिरुवाहरूको निरीक्षण कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भएको छ।
प्रकाश खेतानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा शहरको सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो। कार्यक्रममा स्थानीय समुदाय, सुरक्षा निकाय तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्की रहनुभएको थियो भने विशिष्ट अतिथिमा सशस्त्र प्रहरी भन्सार गुल्मका डीएसपी विकास अधिकारीको उपस्थिति रहेको थियो। साथै, डा. किरन पौडेल, ट्राफिक प्रहरी प्रमुख युवराज कटुवाल, सामाजिक अभियन्ता सचिन, निर्मला शर्मा, सुमित्रा नेपाल, कविता यादव (आफन्त नेपाल), नगर प्रहरी नायब निरीक्षक लाल प्रसाद लुइटेल तथा सशस्त्र प्रहरी नायब निरीक्षक अनिल कुमार ठाकुर लगायतको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रम अन्तर्गत मितेरी पुल आसपास क्षेत्रमा विभिन्न प्रजातिका बिरुवाहरू रोपिनुका साथै सरसफाइ अभियान समेत सञ्चालन गरिएको थियो। रोपिएका बिरुवाहरूको अवस्थाबारे स्थलगत निरीक्षण गरी तिनको संरक्षण, नियमित सिँचाइ र हेरचाहमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको आयोजकले जनाएको छ।
कार्यक्रममा बोल्दै वक्ताहरूले हरियाली प्रवर्द्धन मात्र नभई स्वच्छ वातावरण निर्माणका लागि यस्ता अभियान अपरिहार्य रहेको बताए। उनीहरूले स्थानीयवासीलाई समेत वृक्षरोपण र सरसफाइमा सक्रिय सहभागिता जनाउन आह्वान गरेका थिए।
स्थानीय समुदाय, प्रहरी तथा विभिन्न संघ–संस्थाको सहकार्यमा सम्पन्न यस अभियानले वातावरण संरक्षणप्रति सकारात्मक सन्देश प्रवाह गरेको छ। आयोजक पक्षले आगामी दिनहरूमा यस्ता कार्यक्रमलाई अझ व्यापक र निरन्तर रूपमा सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।