पर्सा पोस्ट, चैत ०६ गते, वीरगञ्ज ।
नेपाल रेडक्रस सोसाइटी अन्तर्गत रेडक्रस सर्कल एक्शन टिम (RCAT) को नयाँ एकाइ वीरगञ्जमा शान्तिपूर्ण तथा उत्साहजनक वातावरणमा गठन गरिएको छ। सामाजिक सेवा, मानवीय सहायता तथा युवाहरूको सक्रिय सहभागितालाई थप सुदृढ बनाउने उद्देश्यका साथ उक्त एकाइ गठन गरिएको जनाइएको छ।
नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको समन्वयमा गठित नयाँ एकाइमा अध्यक्षमा राहुल पटेल, उपाध्यक्षमा रुची पटेल, सचिवमा अमन पटेल तथा सहसचिवमा मनिषा राउत चयन भएका छन्। यससँगै अन्य सदस्यहरू समेत गरी करिब ४० जनाको सक्रिय समिति निर्माण गरिएको छ।
गठन कार्यक्रममा रेडक्रसका पदाधिकारी, स्थानीय सरोकारवाला, समाजसेवी तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले रेडक्रसका मूल सिद्धान्त—मानवता, निष्पक्षता, स्वेच्छिक सेवा र एकता—अनुसार समाजसेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
नयाँ गठित RCAT एकाइले विपद् व्यवस्थापन, रक्तदान अभियान, स्वास्थ्य तथा सरसफाइसम्बन्धी जनचेतनामूलक कार्यक्रम, आपतकालीन सहयोग तथा समुदायमा आवश्यक विभिन्न मानवीय सेवाहरूमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ।
कार्यक्रममा बोल्ने वक्ताहरूले युवाहरूको सक्रियता र सकारात्मक सोचले समाजमा दीगो परिवर्तन ल्याउन महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै यस्तो अभियानले सामाजिक एकता र सहकार्यलाई अझ मजबुत बनाउने धारणा व्यक्त गरे।
कार्यक्रम सौहार्दपूर्ण तथा अनुशासित वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।