पर्सा पोस्ट, फागुन ०८ गते, वीरगञ्ज।
वीरगञ्जस्थित गौतम स्कूलद्वारा आयोजित “शाइनिङ स्टार्स” कार्यक्रमको दोस्रो दिन भव्य तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। विद्यालयकी निर्देशिका परीक्षा पिया लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रमले विद्यालय शिक्षासँगै सह–पाठ्यक्रम तथा अतिरिक्त क्रियाकलापको महत्वलाई उजागर गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि नेशनल मेडिकल कलेजका निर्देशक डा. इशरत जहान अन्सारी रहनुभएको थियो। विशिष्ट अतिथिहरूमा विद्यालयका डाइरेक्टर सोनम लामा, मानवसेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ता, Allied Youth Society का संस्थापक अध्यक्ष ओम कुमार झा, समाजसेवी प्रकाश थारु, विद्यालयका प्रिन्सिपल गणेश क्षेत्री, रमेश शर्मा, कर्ण सर तथा जुनियर स्कुलका प्रिन्सिपल सिपेन्द्र गुप्ता लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यालयका स–साना तथा प्रतिभाशाली विद्यार्थीहरूले नृत्य, गायन, कविता वाचन, नाटक लगायत विविध सांस्कृतिक प्रस्तुति मार्फत आफ्नो कला र क्षमता प्रस्तुत गरेका थिए। रंगीन पोशाक, आकर्षक मञ्च सजावट र सजीव सांस्कृतिक वातावरणले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो। विद्यार्थीहरूको आत्मविश्वासपूर्ण प्रस्तुति, सृजनात्मक सोच तथा अनुशासित सहभागिताले उपस्थित अभिभावक र अतिथिहरूलाई मन्त्रमुग्ध बनाएको थियो।
प्रमुख अतिथि डा. अन्सारीले आफ्नो मन्तव्यमा शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नहुने उल्लेख गर्दै यस्ता अतिरिक्त क्रियाकलापले बालबालिकाको व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँका अनुसार विद्यालयमा प्राप्त हुने सैद्धान्तिक ज्ञानसँगै सांस्कृतिक तथा सिर्जनात्मक गतिविधिले विद्यार्थीको मानसिक र शारीरिक दुवै क्षमताको विकास गर्छ, जसले उनीहरूलाई आत्मविश्वासी र सक्षम नागरिक बन्न सहयोग पुर्याउँछ।
अन्य वक्ताहरूले पनि विद्यालय शिक्षासँगै खेलकुद, सांस्कृतिक तथा सह–पाठ्यक्रम गतिविधि आवश्यक रहेको धारणा व्यक्त गर्दै यस्ता कार्यक्रमले बालबालिकाको अन्तरनिहित प्रतिभा उजागर गर्नुका साथै अनुशासन, नेतृत्व क्षमता र सामाजिक व्यवहार विकास गर्न सहयोग पुग्ने बताए।
कार्यक्रमको सञ्चालन विद्यालयका कोअर्डिनेटर सौराज प्रधानले प्रभावकारी ढंगले गर्नुभएको थियो। आयोजकका अनुसार “शाइनिङ स्टार्स” कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन मात्र नभई विद्यालय र अभिभावकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको छ। विद्यालयले भविष्यमा पनि यस्ता सिर्जनात्मक तथा प्रेरणादायी कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।