पर्सा पोस्ट, फागुन ८ गते, वीरगञ्ज।
पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा नेपाली कांग्रेसका नेता अनिल रुङ्ग्टाले वीरगञ्ज महानगरपालिका–७ माईस्थान क्षेत्रमा घरदैलो कार्यक्रमसँगै प्रचार–प्रसार केन्द्र उद्घाटन गरेका छन्। केन्द्र उद्घाटनपछि उनले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै समर्थनका लागि आग्रह गरेका थिए।
घरदैलो अभियानका क्रममा स्थानीय बासिन्दाहरूले फूलमाला, स्वागत तथा आशीर्वादसहित रुङ्ग्टालाई आत्मीय साथ दिएका थिए। उल्लेख्य उपस्थितिसहित देखिएको स्थानीयको उत्साह र अपनत्वले आफू अझ जिम्मेवार बनेको र यसपटक पर्सा–१ मा आफ्नो जित सुनिश्चित हुँदै गएको रुङ्ग्टाले दाबी गरे।
उनले रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, उद्यमशीलता प्रवर्द्धन, आधुनिक पूर्वाधार विकास तथा सुदृढ स्वास्थ्य सेवा आफ्नो प्रमुख प्राथमिकता रहेको बताए। “समान सहभागिता र समावेशी विकासमार्फत पर्सा–१ लाई समुन्नत क्षेत्र बनाउने हाम्रो स्पष्ट योजना छ,” उनले भने।
रुङ्ग्टाले विगतमा विकासका कामहरू ओझेलमा परेको उल्लेख गर्दै अब क्षेत्रको समग्र विकास, युवाका लागि अवसर र व्यवसायमैत्री वातावरण निर्माणमा आफू प्रतिबद्ध रहेको बताए। स्थानीय नागरिकहरूले देखाएको माया, प्रेम र समर्थनले आफूलाई थप हौसला मिलेको उल्लेख गर्दै उनले निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’मा मतदान गरी सहयोग गर्न मतदातासँग हार्दिक अपिल गरे।