हरपतगन्जमा घन्टीको घरदैलो , इनरुवामा सम्पर्क कार्यालय उद्घाटन – रास्वपा उमेदवार हरि पन्तको अभियान तीव्र

Date:

पर्सा पोस्ट, फागुन ०६ गते, वीरगञ्ज ।
पर्सा जिल्लामा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक गतिविधि तीव्र बन्दै गइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो चुनावी अभियानलाई थप आक्रामक बनाएको छ। पर्सा निर्वाचन क्षेत्र नं.–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा रास्वपा पर्सा सभापति हरि पन्तले घरदैलो अभियानसँगै संगठन विस्तार र पार्टी संरचना सुदृढीकरणलाई समानान्तर रूपमा अघि बढाएका छन्।

वीरगञ्ज महानगरपालिका–हरपतगञ्जमा आयोजित घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता देखिएको थियो। टोल–टोलमा पुगेका पन्तले मतदातासँग प्रत्यक्ष संवाद गर्दै सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण तथा जनउत्तरदायी शासन आफ्नो प्रमुख एजेन्डा रहेको स्पष्ट पारे।

कार्यक्रमका क्रममा समर्थकहरूले घण्टी बजाउँदै “जय घण्टी” र “अबकी बार, वैकल्पिक सरकार” जस्ता नारा लगाएर वातावरण उत्साहपूर्ण बनाएका थिए। पन्तले “राजनीति सेवा हो, सत्ता होइन” भन्ने सन्देश दोहोर्‍याउँदै परम्परागत राजनीतिक अभ्यासबाट निराश जनताले वैकल्पिक शक्तिलाई अवसर दिनुपर्ने धारणा व्यक्त गरे।

घरदैलो भेटघाटमा स्थानीय बासिन्दाले रोजगारी अभाव, कृषि उत्पादनको बजारीकरण, सडक तथा पूर्वाधार, शिक्षा–स्वास्थ्य सेवा र समग्र आर्थिक–राजनीतिक अस्थिरताबारे गुनासो राखेका थिए। त्यसको जवाफमा पन्तले योजनाबद्ध र परिणाममुखी विकासमार्फत क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै केन्द्र सरकारसँग प्रत्यक्ष समन्वयका लागि रास्वपालाई विजयी गराउन आग्रह गरे।

यसैबीच, पन्तले इनरुवामा रास्वपाको सम्पर्क कार्यालय उद्घाटन गरेका छन्। आयोजित कार्यक्रममा उनले स्थानीय बासिन्दाबाट प्राप्त माया र समर्थनप्रति आभार व्यक्त गर्दै जनविश्वासलाई सधैं सम्मान गर्ने बताए। कार्यक्रम विजय साहको सभापतित्वमा सम्पन्न भएको थियो भने सहजीकरण सन्तोष पटेलले गरेका थिए।

कार्यक्रममा महानगर सभापति अमन आलम, जिल्ला सचिव सुदिश प्रजापती, दिलिप कुर्मी, मुकेध पटेललगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो। कार्यालय उद्घाटनमा सम्साद आलम, तबरेज अहमद र सन्नी कुमार गुप्ताले विशेष अग्रसरता लिएका थिए।

निर्वाचन मिति नजिकिँदै जाँदा पर्सामा विभिन्न राजनीतिक दलका उम्मेदवारहरू घरदैलो, सभा–सम्मेलन तथा संगठन विस्तारमार्फत मतदाता आकर्षित गर्न सक्रिय बनेका छन्। रास्वपाले भने वैकल्पिक राजनीतिक शक्तिको रूपमा जनतामाझ आफ्नो उपस्थिति बलियो बनाउँदै लैजाने रणनीति अघि सारेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...