पर्सा पोस्ट, फागुन ०२ गते, वीरगञ्ज ।
पर्सा क्षेत्र नम्बर–१ बाट जनमत पार्टीका प्रतिनिधिसभा उम्मेदवार ओमप्रकाश सरार्फले वीरगञ्ज महानगरपालिका वडा नं. १४ पिप्रामा घरदैलो, भेटघाट तथा जनसंवाद कार्यक्रम सम्पन्न गरेका छन्।
कार्यक्रमका क्रममा उम्मेदवार सरार्फले नेपाल कृषि प्रधान देश भए पनि किसानहरू अझै राज्यको प्राथमिकतामा नपरेको बताएका छन्। उनले किसानहरूले मल, जल, बिउबिजन र कृषि उपकरणजस्ता आधारभूत आवश्यकतामा समेत विभेद र अभाव झेल्नु परेको उल्लेख गर्दै जनमत पार्टी किसानको सम्मान, अधिकार र समृद्धिका लागि सदैव संघर्षरत रहने बताए।
सरार्फले खेतीपातीलाई आधुनिकीकरण तथा व्यवसायीकरण गर्दै किसानको आम्दानी वृद्धि गर्ने स्पष्ट योजना जनमत पार्टीसँग मात्रै रहेको जिकिर गरे। उनले तराई–मधेसको अर्थतन्त्र कृषिमा आधारित रहेको उल्लेख गर्दै कृषि क्षेत्रको विकास बिना देशको समृद्धि सम्भव नहुने धारणा व्यक्त गरे।
त्यसैगरी उनले लामो समयदेखि बन्द अवस्थामा रहेको वीरगञ्जस्थित कृषि औजार कारखाना पूर्ण रूपमा पुनः सञ्चालन गर्न आफू प्रतिबद्ध रहेको बताए। कारखाना सञ्चालनमा आए किसानलाई सस्तो तथा सहज रूपमा कृषि उपकरण उपलब्ध हुनुका साथै स्थानीय स्तरमै रोजगारी सिर्जना हुने विश्वास उनले व्यक्त गरे।
देश र मधेसको निकासका लागि जनमत पार्टी र डा. सीके राउतको स्पष्ट भिजन रहेको उल्लेख गर्दै उनले “हर्न” चुनाव चिन्हमा मतदान गर्न मतदातासँग अपिल गरे।
कार्यक्रममा नेता विद्याला प्रसाद, रम्भा मिश्रा, समानुपातिक उम्मेदवार विजय पासवान, डा. मनोज कुमार, सिए देवराज, श्यामशंकर चौरसिया, अनिता रौनियार, सिकेन्द्र पटेल, रोहित पटेल, सत्युग साह, तुल्सी राम, सहनवाज राकी, अजित सिंह, मन्जय शर्मा, सुमित सिंह, रामबहादुर पासवानलगायतको सहभागिता रहेको थियो।