पर्सा पोस्ट, फाल्गुन ०२ गते, वीरगञ्ज।
वीरगञ्ज महानगरपालिका–७ कुम्हालटोल टोल सुधार समाजले रेल्वे रोडस्थित पंचमुखी हनुमान मन्दिर अगाडि शनिबार लगातार १७औँ निःशुल्क भोजन कार्यक्रम सम्पन्न गरेको छ।
शनिबार आयोजित निःशुल्क भोजन शिविरमा बाटो हिँड्ने बटुवा, पर्यटक, रिक्सा, ठेला तथा इ–रिक्सा चालक, विपन्न तथा असहाय नागरिकहरूलाई दालभात, आलु–भन्टाको तरकारी, भुटेको हरियो खुर्सानी र मुलाको अचारसहित भोजन गराइएको थियो। समाजका सेवकहरूले सहभागीहरूलाई बसालेर स्नेहपूर्वक सोधपुछ गर्दै थप–थप भोजन परोसी सेवा प्रदान गरेका थिए।
कुम्हालटोल टोल सुधार समाजका अध्यक्ष नन्दलाल राउत अहिरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगञ्ज कपडा बैंकका अध्यक्ष तथा सञ्चारकर्मी लालबाबु सिंह, अमरटोल टोल सुधार समितिका सचिव एवं युवा समाजसेवी नवराज भट्टराई, समाजका सचिव हेमन्त शाक्य, कोषाध्यक्ष बैधनाथ साह, सहसचिव रितेश गुप्ता, सल्लाहकारहरू गौरी गुप्ता, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवणबहादुर रायमाझी, समाजसेवी गोविन्द ताम्राकार, सुरज श्रीवास्तव लगायत स्थानीय अगुवा तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै वीरगञ्ज कपडा बैंकका अध्यक्ष सिंहले दिनदुःखी र असहायको सेवा गर्नु नै मानव धर्मको सर्वोच्च रूप भएको बताए। विगत १७ महिनादेखि निरन्तर रूपमा घरसरह सफा, स्वच्छ, पोषिलो तथा गुणस्तरीय भोजन खुवाउँदै आएको समाजको कार्य अत्यन्त सराहनीय रहेको उल्लेख गर्दै उनले यस्ता मानवीय अभियान प्रत्येक टोल र शहरमा विस्तार हुनुपर्ने धारणा व्यक्त गरे। मानवताको सुदृढीकरणका लागि सबैले हातेमालो गर्नुपर्नेमा उनले जोड दिए।
समाजका अध्यक्ष अहिरका अनुसार यो निःशुल्क भोजन कार्यक्रम प्रत्येक महिनाको पहिलो शनिबार आयोजना हुँदै आएको छ र पदाधिकारी तथा दाताहरूको सहयोगमा सञ्चालन भइरहेको छ। उनले आगामी दिनमा कार्यक्रमलाई अझ विस्तार गरी प्रत्येक १५ दिनमा र सम्भव भए प्रत्येक शनिबार सञ्चालन गर्ने तयारी रहेको जानकारी दिँदै सहयोगी तथा मानवताप्रेमी हातहरूको साथ आवश्यक रहेको बताए।
सेवामा संलग्न स्वयंसेवकहरूको समर्पण देखेर भोजन ग्रहण गर्नेहरू अत्यन्त खुसी भएका थिए र समाज परिवारप्रति आभार व्यक्त गरेका थिए।
समाजका अगुवाहरूले मनुष्य जन्मिएपछि आफ्नो लागि मात्र होइन, अरूको सेवा र सहयोगका लागि पनि सोच्नुपर्ने उल्लेख गर्दै गरिब, असहाय र दिनदुःखीलाई खाना तथा वस्त्र उपलब्ध गराउनु नै साँचो पुण्य कार्य भएको बताए। उनीहरूका अनुसार मानवताभाव हृदयदेखि जागृत भए असम्भव भन्ने केही नहुने र सामाजिक उत्तरदायित्व निर्वाहले समाजमा सद्भाव, सहकार्य र सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरिएको थियो।