पर्सा पोस्ट, माघ २० गते, बिरगंज ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले पर्सा जिल्लाको पिपरा क्षेत्रमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ। आज पिपरामा घरदैलो कार्यक्रम सुरु गर्नु अघि कृष्ण पटेलको नेतृत्वमा ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको हो।
निर्वाचन परिचालन कमिटी गठनसँगै पिपरा क्षेत्रमा रास्वपाको संगठन थप सशक्त बन्दै गएको नेताहरूले बताएका छन्। स्थानीय तहमा पार्टीको सक्रियता बढ्दै जाँदा पिपरामा पनि रास्वपाको प्रभाव विस्तार हुँदै गएको देखिएको छ।
यसैबीच, आजै बिरगंज महानगरपालिका वडा नम्बर २३ स्थित सबैठ्वामा रोशन यादव र रवी यादवको नेतृत्वमा सयौँ जेन्जी युवाहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। नवप्रवेशी युवाहरूलाई पार्टीमा स्वागत गर्दै रास्वपा पर्साका सभापति तथा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हरि पन्तले भाद्र २३ र २४ मा भएको जेन्जी विद्रोहकै कारण मुलुक अहिले परिवर्तनको संघारमा पुगेको बताउनुभयो।
पन्तले अबको परिवर्तनको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले नै गर्ने दाबी गर्दै जेन्जी युवाहरूको निरन्तर पार्टी प्रवेशले पर्सामा रास्वपाको जित सुनिश्चित हुँदै गएको उल्लेख गर्नुभयो।
कार्यक्रममा रास्वपा पर्साका जिल्ला सचिव सुदिश प्रजापति, महानगर सभापति अमन आलम, सचिव गौतम श्रेष्ठ, क्षेत्रीय सभापति राम आर्यलगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।