पर्सा पोस्ट, पौष २६ गते, बिरगंज ।
बिरगंज समाज सेवाको आयोजनामा वीरगन्जस्थित नारायणी अस्पतालमा लगातार २१ औँ महिनाको साप्ताहिक निःशुल्क भोजन कार्यक्रम सभ्य एवं भव्य रूपमा सम्पन्न भएको छ। विगत वर्षदेखि प्रत्येक शनिबार बिहान ९ः३० बजेदेखि नारायणी अस्पतालको प्राङ्गणमा सञ्चालन हुँदै आएको उक्त कार्यक्रमबाट अस्पतालमा उपचाररत विपन्न बिरामी, कुरुवा, असहाय व्यक्तिहरूका साथै रिक्सा तथा ई–रिक्सा चालक र यात्रु बटुवाहरू लाभान्वित हुँदै आएका छन्।
घरमा बनाएको जस्तै सफा, सुग्घर, शुद्ध तथा गुणस्तरीय पोषिलो भोजन उपलब्ध गराउने उद्देश्यसहित सञ्चालन गरिएको यस सेवामा आज भात, दाल, आलु–कोभीको तरकारी र भुटेको हरियो खुर्सानी समावेश गरिएको थियो। आजको निःशुल्क भोजन शिविर लायन्स क्लबका संस्थापक मेल्विन जोन्सको जन्मदिवसको अवसरमा लायन्स क्लब अफ आदर्शनगर, बिरगंजको सहआयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा करिब ६ सय जनालाई भोजन गराइएको बिरगंज समाज सेवाका सचिव तथा लायन्स क्लब आदर्शनगरका डिस्ट्रिक्ट एजुकेटिभ चिफ एवं पूर्व अध्यक्ष प्रकाश बाहेतीले जानकारी दिनुभयो।
कार्यक्रममा बोल्दै आयोजक संस्था बिरगंज समाज सेवाका अध्यक्ष अशोक गुप्ताले “सेवा नै धर्म हो” भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै हरेक हप्ता करिब ४५० देखि ५ सय जनाले यस सेवाबाट लाभ लिँदै आएको बताउनुभयो। दिनदुखी तथा असहायहरूको पेट भरिएको र त्यसपछि उनीहरूको अनुहारमा देखिने हाँसी–खुशीले आफूहरूलाई अत्यन्तै खुशी र गौरवान्वित महसुस हुने उहाँको भनाइ थियो। साथै उहाँले आजको कार्यक्रमका सहयोगी लायन्स क्लब आदर्शनगर परिवार, सम्पूर्ण दाता तथा सेवकजनप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै सबैलाई आ–आफ्नो स्थानबाट सेवा र सहयोगमा जुट्न आग्रह गर्नुभयो।
त्यसैगरी मित्र राष्ट्र भारत, रक्सौल लायन्स क्लबका अध्यक्ष तथा समाजसेवी बिमल सराफले लायन्स क्लबका संस्थापक मेल्विन जोन्सको वार्षिकोत्सवको अवसरमा विश्वभर साप्ताहिक रूपमा ‘भोको कार्यक्रम’ आयोजना भइरहेको सन्दर्भ उल्लेख गर्दै बिरगंज समाज सेवाको यस निःशुल्क भोजन अभियानमा सहभागी हुन पाउँदा मन अत्यन्तै रमाएको बताउनुभयो। दिनदुखी असहायको सेवा सहयोग नै मानवका लागि सबैभन्दा ठूलो धर्म र कर्म भएको उल्लेख गर्दै उहाँले मानवता बलियो बनाउन सबैलाई यस अभियानमा हातेमालो गर्न आग्रह गर्नुभयो।
आजको निःशुल्क भोजन कार्यक्रममा बिरगंज समाज सेवाका उपाध्यक्ष मनोज प्रसाद रौनियार, सदस्यहरू मदन प्रसाद गुप्ता, निसान्त लाठ, राजेन्द्र भट्टराई, लालबाबु सिंह, सान्चे मगरलगायतको सक्रिय सहभागिता रहेको थियो। साथै लायन्स क्लब आदर्शनगरका अध्यक्ष सुरेश रुङ्टा, लायन्स क्लब रक्सौलका पूर्व अध्यक्ष साईमन रेक्स, लायन्स क्लब आदर्शनगरका उपाध्यक्ष किशोर गुप्ता, सचिव मनिष गोयल, सदस्य महेश कादमिया, प्रदिप डालमिया तथा अन्य पदाधिकारी एवं सदस्यहरूले सेवा प्रदान गरेका थिए।