पर्सा पोस्ट , पौष ०९ गते , बिरगंज ।
भारतको कोलकातामा आयोजना हुन लागेको Karate International Friendship Cup 2025 मा सहभागिता जनाउन प्रस्थान गर्न लागेका पर्सा जिल्लासहित नेपालका कराते खेलाडीहरूलाई खेलका लागि आवश्यक सामग्री प्रदान गर्दै सम्मानपूर्वक विदाइ गरिएको छ।
बिरगंजमा आयोजित विशेष विदाइ कार्यक्रम कार्यक्रमका सभापति रवि यादवको अध्यक्षता तथा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडियो) भोला दाहालको प्रमुख आतिथ्यमा भव्य रूपमा सम्पन्न भएको हो। कार्यक्रममा बिरगंजका युवा नेता सुधिर पटेल विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिडियो भोला दाहालले खेलकुदले राष्ट्रको पहिचान अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै नेपाली खेलाडीहरू अनुशासन, मेहनत र आत्मविश्वासका साथ प्रतियोगितामा सहभागी भई देशको गौरव बढाउने विश्वास व्यक्त गरे। उनले खेलाडीहरूलाई शुभकामना दिँदै राज्यका तर्फबाट सम्भव सहयोग निरन्तर रहने प्रतिबद्धता समेत जनाए।
विशिष्ट अतिथि युवा नेता सुधिर पटेलले खेलकुद युवाहरूको व्यक्तित्व विकाससँगै अन्तर्राष्ट्रिय मैत्री सम्बन्ध सुदृढ गर्ने प्रभावकारी माध्यम भएको बताए। Karate International Friendship Cup जस्तो अन्तर्राष्ट्रिय प्रतियोगितामा पर्सा जिल्लाबाट खेलाडीहरूको सहभागिता गर्वको विषय भएको उनको भनाइ थियो।
कार्यक्रममा बिरगंज युवा समाजका पूर्व अध्यक्ष कमल चौगाई, महादेव कुर्मी, महेश धामी, शर्मा नन्द कुशवाहा लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै विद्यार्थी नेता, जेन–जी नेता तथा समाजसेवीहरू चन्दन महतो, सरोज प्रसाद र दिपक यादवले पनि खेलाडीहरूलाई शुभकामना व्यक्त गर्दै उत्साहवर्धन गरे।
कार्यक्रमका सभापति रवि यादवले खेलकुदमार्फत अन्तर्राष्ट्रिय मैत्री सम्बन्ध मजबुत बनाउँदै राष्ट्रको सम्मान बढाउन खेलाडीहरूको भूमिका महत्वपूर्ण रहेको बताए। उनले आगामी दिनहरूमा पनि पर्सा जिल्लाबाट खेलकुद प्रवर्द्धनका यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
कार्यक्रमको अन्त्यमा Karate International Friendship Cup 2025 मा सहभागी हुन लागेका सबै खेलाडीहरूलाई आवश्यक खेल सामग्री प्रदान गर्दै सफल खेल प्रदर्शनको कामनासहित सम्मानपूर्वक विदाइ गरिएको थियो।