पर्सा पोस्ट, मंसिर ०५ गते, बिरगंज।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा कुम्हालटोलद्वारा आयोजित परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम शुक्रबार कुम्हालटोलस्थित भवनमा सम्पन्न भएको छ। कार्यक्रम वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिक्रम सुबेदीसँग प्रत्यक्ष संवाद र समन्वय विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको थियो।
कार्यक्रमका विशिष्ट अतिथि वडा नम्बर ५ का वडा अध्यक्ष प्रदिप चौरसिया रहेका थिए भने कार्यक्रमको अध्यक्षता सामुदायिक प्रहरी सेवा कुम्हालटोलका अध्यक्ष रमेश चौधरीले गरेका थिए। कार्यक्रमको सञ्चालन सचिव श्रवन बहादुर रायमाझीले गरेका थिए।
कार्यक्रमको उद्देश्य स्थानीय समुदाय र प्रहरीबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने, सुरक्षा चुनौतीबारे प्रत्यक्ष संवाद स्थापित गर्ने तथा नयाँ प्रहरी नेतृत्वसँग समुदायलाई नजिकबाट परिचित गराउने रहेको आयोजकले जनाएको छ।
वडा अध्यक्ष प्रदिप चौरसियाले समुदायले सुरक्षा, शान्ति र अनुशासनमा सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिँदै भने, “प्रहरीसँग हातेमालो गरेर काम गर्दा मात्र वडा सुरक्षित र अपराधमुक्त बन्छ। कुम्हालटोलमा सक्रिय सामुदायिक प्रहरी संरचना हुनु हाम्रो गर्वको विषय हो,” उनले भने। उनले नियमित अन्तरक्रिया, जनचेतना कार्यक्रम तथा स्थानीय समस्यालाई प्राथमिकतामा राखेर समाधान गर्नुपर्नेमा पनि ध्यानाकर्षण गराए।
त्यसैगरी प्रहरी निरीक्षक बिक्रम सुबेदीले २४ घण्टा समुदायको सुरक्षाका लागि सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दै भने, “समुदायकै सहकार्य बिना सुरक्षा सम्भव हुँदैन। कुनै पनि समस्या वा सूचना आए तुरुन्तै प्रहरीलाई जानकारी गराउन आग्रह गर्दछु,” उनले बताए।
कार्यक्रममा समाजसेवी, सामाजिक अगुवाहरू, सञ्चारकर्मी, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी तथा आजीवन सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो। साथै कन्चनजंगा स्कुलका निर्देशक माटिन मोक्तान, मुनलाइट स्कुलका सञ्चालक स्याम केसी, ज्ञानमाया रायमाझी, तारा बिष्ट, सुशील बर्नवाल, नन्दलाल अहिर लगायत स्थानीय प्रतिष्ठित व्यक्तिहरू सहभागी रहेका थिए।
कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष सियाराम नेपालीले गरेका थिए भने वडा सदस्य सन्जु दहाल तथा मनोज साहको पनि विशेष उपस्थिति रहेको थियो।