पर्सा पोस्ट, कार्तिक ०५ गते, वीरगञ्ज । वीरगञ्जस्थित सिरडी साईँ बाबा मन्दिर सेवा ट्रस्ट परिवारद्वारा आयोजना गरिएको ७औं वार्षिकोत्सव तथा भव्य पाल्की यात्रा कार्यक्रम आज अत्यन्त श्रद्धा, भक्ति र उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ।
कार्यक्रममा ट्रस्टका अध्यक्ष प्रवेश कुमार सरार्फ, उपाध्यक्ष सञ्जय प्रसाद कुश्वाहा, सचिव दिपेन्द्र श्रेष्ठ, कोषाध्यक्ष बासुदेव सहनी, सदस्यहरू मनोज कुमार रौनियार, राकेश कुमारलगायतका पदाधिकारी, सदस्य तथा ठूलो संख्यामा साईँ भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उक्त पाल्की यात्रा गीता मन्दिर रोडस्थित श्री साईँ बाबा मन्दिरबाट प्रारम्भ भई माईस्थान, अलखियामाठ, आदर्शनगर हुँदै मकालु होटल र घडिअर्वा चौक मार्ग हुँदै पुनः मन्दिर परिसरमै पुगेर सम्पन्न गरिएको थियो। यात्राका क्रममा साईँ भजन, कीर्तन, धूप–दीप, फूलमालाले वातावरण भक्तिभावले पूर्ण रूपमा आलोकित बनेको थियो।
कार्यक्रम सभ्य र भव्यरूपले सम्पन्न गरिएको ट्रस्टका अध्यक्ष सरार्फले जानकारी दिएका छन्। उनका अनुसार पाल्की यात्रा पश्चात् मन्दिरमा विशेष पूजाआजा तथा आरती कार्यक्रम सम्पन्न गरिएको थियो। त्यसपछि दिउँसो २ बजेदेखि भण्डारा (महाप्रसाद वितरण) कार्यक्रम र बेलुका सामूहिक सत्सङ तथा भजन–कीर्तनको आयोजना गरिएको छ।
यस भव्य अवसरले वीरगञ्जको धार्मिक र सांस्कृतिक परिवेशमा साईँ भक्तिभाव, एकता र सामूहिक सहभागिताको सुन्दर सन्देश फैलाएको सहभागी भक्तजनहरूले बताएका छन्।