पर्सा पोस्ट, भदौ १५ गते, बिरगंज । बिरगंजमा आज आयोजित विशेष कार्यक्रममा निजी तथा आवासीय विद्यालय सङ्घ (प्याब्सन) पर्साका पदाधिकारीहरूले संघीय सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनका प्रावधानबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठ (लेखक)लाई संयुक्तरूपमा ज्ञापनपत्र बुझाएका छन्।

प्याब्सन पर्साका जिल्ला अध्यक्ष सरोज प्रसाद चौधरीको नेतृत्वमा गएको टोलीमा केन्द्रीय सदस्य छेडुप लामा, वरिष्ठ उपाध्यक्ष सुशीला साह, महानगर अध्यक्ष राहुल श्रीवास्तव, सल्लाहकार इमामुद्दिन अहमद, सह–सचिव राम बाबु प्रसाद, पूर्व वरिष्ठ उपाध्यक्ष श्याम केसी, कोषाध्यक्ष प्रविन चौधरी, जिल्ला सचिव अशोक सङ्रौला, सन्नी पाख्रीनलगायत पदाधिकारीहरूको उपस्थिति थियो।
ज्ञापनपत्रमा सरकारले ल्याउन लागेको शिक्षा ऐनले निजी विद्यालयलाई बन्द गर्ने प्रावधान राखेको भन्दै आपत्ति जनाइएको छ। प्याब्सनका पदाधिकारीहरूले निजी विद्यालयहरूको अस्तित्व, दिगोपन र शैक्षिक गुणस्तर सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै विधेयक तत्काल संशोधन गर्न माग गरेका छन्।
उनीहरूले विद्यालय सञ्चालकहरूको आन्दोलनलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने, शिक्षक–कर्मचारीको हक अधिकार सुनिश्चित गर्नुपर्ने, पाठ्यक्रम व्यवस्थापनलाई व्यवस्थित बनाउनुपर्ने र शैक्षिक गुणस्तर उकास्ने खालका प्रावधान राखेर मात्र शिक्षा ऐन ल्याउनुपर्नेमा जोड दिएका छन्।
गृहमन्त्री श्रेष्ठले ज्ञापनपत्र ग्रहण गर्दै निजी विद्यालयहरूको योगदानलाई सरकारले सम्मान गर्ने आश्वासन दिएका छन्। साथै, विद्यालय सञ्चालकहरूको माग सम्बोधन गर्न सम्बन्धित निकायसँग छलफल गरी आवश्यक पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।