पर्सा पोस्ट, भदौ ७ गते, बिरगंज । ब्रह्माकुमारीज संस्थाको पूर्व मुख्य प्रशासिका राजयोगिनी दादी प्रकाशमणिज्यूको १८औं पुण्यतिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा नेपालमा पहिलो पटक एकैदिन ५०४७ पिन्ट रगत संकलन गरिएको छ।

नेपालकै इतिहासमा पहिलो पटक भएको यस संकलनलाई हालसम्मकै रेकर्ड ब्रेकिङ रक्तदान अभियानका रूपमा लिइएको छ। अभियान ब्रह्माकुमारीजका नेपाल–भारत भर फैलिएका शाखाहरुको आयोजना तथा विभिन्न सामाजिक संघ–संस्थाको सहकार्यमा सम्पन्न भएको हो।

यस अन्तर्राष्ट्रिय अभियान अन्तर्गत १०० घण्टाभित्र एक लाख पिन्ट रगत संकलन गर्ने लक्ष्य राखिएको छ। यसको राष्ट्रिय शुभारम्भ भदौ १ गते (अगस्ट १७) ललितपुरस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको सभाहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
पहिलो दिनमै ऐतिहासिक उपलब्धि
अभियानको पहिलो दिन (भदौ ६, अगस्ट २२) नेपालभर संकलित रगतको विवरण यसप्रकार छः
• काठमाडौं क्षेत्र : १,७४५ पिन्ट
• विराटनगर क्षेत्र : १,३०२ पिन्ट
• नारायणगढ क्षेत्र : ८१२ पिन्ट
• नेपालगञ्ज क्षेत्र : २५६ पिन्ट
• बीरगंज क्षेत्र : २२० पिन्ट
• पोखरा क्षेत्र : १४९ पिन्ट
• दाङ क्षेत्र : १३७ पिन्ट
• बुटवल क्षेत्र : १२१ पिन्ट
• हेटौंडा क्षेत्र : ११३ पिन्ट
• जनकपुर क्षेत्र : १०० पिन्ट
• भैरहवा क्षेत्र : ६७ पिन्ट
• राजविराज क्षेत्र : २५ पिन्ट
कुल संकलन : ५०४७ पिन्ट

अभियान निरन्तर जारी
रक्तदान अभियान अगस्ट २२ देखि २५ सम्म (भदौ ६–९) निरन्तर सञ्चालन हुनेछ। यस अवधिभर नेपाल–भारतका सयौं स्थानमा हजारौं स्वयंसेवकहरुको सहभागिता रहने अपेक्षा गरिएको छ।
यस ऐतिहासिक अभियानलाई सामाजिक सद्भाव, मानव सेवा र विश्व बन्धुत्वको प्रेरणादायी उदाहरणका रूपमा लिइएको छ।