पर्सा पोस्ट, साउन २९ गते, बिरगंज । बिरगंज महानगरपालिका वडा नं. १६, नगवा बाईपास सडकबाट अनियमित सामान सहितको एक ट्रक प्रहरीले बरामद गरेको छ।
वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंको नेतृत्वमा खटिएको टोलीले अनलाइन बिल नभएका तथा बिल–बिजकभन्दा बढी लोड भएका सामान सहित ट्रक फेला पारेको हो।
ना.६ ख. २४३४ नम्बरको उक्त ट्रकमा करिब रु. ३३,७७,७३१ मूल्य बराबरका किराना, हार्डवेयर, कस्मेटिक र इलेक्ट्रोनिक लगायतका खुद्रा सामानहरू लोड भएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा सामानहरूको बिल वा आवश्यक दस्तावेज नभएको पुष्टि भएपछि ट्रकलाई राजश्व अनुसन्धान कार्यालय, पथलैया, बारामा पठाइएको हो।
प्रहरी निरीक्षक चौलागाईंका अनुसार सामानहरूको वास्तविक मूल्य र बिल–बिजकबीच ठूलो अन्तर देखिएको छ। उनले यस प्रकारको अनियमितता नियन्त्रण र व्यापारिक इमानदारी कायम गर्न तत्काल कारवाही आवश्यक रहेको बताए।
राजश्व अनुसन्धान कार्यालयले ट्रक र सामानहरूको विस्तृत छानबिन गर्दै कानूनी प्रक्रिया अघि बढाउने तयारी गरेको छ। प्रहरीले व्यापारीहरूले अनियमित बिल वा दस्तावेज प्रयोग गरी कर छली गर्ने गतिविधि नियन्त्रणमा ल्याउन दृढता व्यक्त गरेको छ।