अजित कुमार भुजेल , श्रावण २० गते। नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिले जनकपुरधामको मुटुमा रहेको चार कट्ठा जग्गा विधिवत रूपमा प्राप्त गरेको छ। गुठी संस्थानसँग लिज सम्झौता सम्पन्न भएपछि महासंघले यो जग्गा आफ्नो नाममा दर्ता गराउन सफल भएको हो।
लामो समयदेखि आफ्नै स्थायी भवन निर्माणको सपना देख्दै आएको पत्रकार महासंघका लागि यो उपलब्धि ऐतिहासिक मानिएको छ। महासंघका महासचिव शैलेन्द्र साहका अनुसार अब भवन निर्माण प्रक्रिया छिट्टै सुरु गरिनेछ। प्राप्त जग्गा जनकपुरको अति महत्वपूर्ण क्षेत्रमा पर्ने भएकाले यसलाई प्रदेशभरका पत्रकारहरूको साझा केन्द्रका रूपमा विकास गरिने लक्ष्य लिइएको छ।
भवन निर्माणका लागि आवश्यक प्राविधिक प्रक्रिया अघि बढाउने तयारी भइरहेको महासंघले जनाएको छ। साथै, यसका लागि सम्पूर्ण पक्षहरूबाट सहयोग र समर्थनको अपेक्षा गरिएको छ।
जग्गा प्राप्तिको उपलक्ष्यमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय तथा प्रदेश पदाधिकारीहरू, मधेस प्रदेश समितिका सदस्य अजय साहसहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले पत्रकारिता क्षेत्रको सुदृढीकरण, संस्थागत विकास र पत्रकारहरूको हकहितको संरक्षणका लागि यो कदमलाई ऐतिहासिक उपलब्धिको रूपमा व्याख्या गरे।