अजित कुमार भुजेल , श्रावण २० गते ,हेटौंडा । पछिल्ला दिनमा हेटौंडा , जितपुर र बिरगंज लगायतका बजारमा बालबालिकालाई लक्षित गर्दै बिक्री भइरहेको एक नयाँ प्रवृत्तिले आम नागरिकलाई चकित र चिन्तित बनाएको छ। विशेष गरी मकैका ढुङ्ग्रिमा पाँच रुपैयाँदेखि पाँच सय रुपैयाँसम्मका नोट राखी बिक्री हुने क्रम तीव्र बनेको छ।
# ‘हरिओम फुड’ को उत्पादन, बजारमा खुलेआम बिक्री :-
नवलपरासीको गैडाकोट–११ मा रहेको ‘हरिओम फुड प्रा.लि.’ बाट उत्पादित ढुङ्ग्रिहरूमा व्यापारीहरूले प्लास्टिकमा बेरेका नोट राखेर बजारमा पठाइरहेका छन्। चितवन, मकवानपुर, नवलपरासी लगायतका जिल्लामा यस्ता सामग्री खुलेआम बालबालिकालाई लक्षित गरी बिक्री भइरहेका छन्।

# लोभ जगाउने प्रचार, अभिभावक पनि प्रभावित :- रंगीन प्याकिङ, आकर्षक पोस्टर र ‘पैसा पाउने’ लोभ देखाएर बालबालिकालाई क्रेता बनाउने प्रयासमा व्यापारीहरू सक्रिय छन्। अभिभावकहरूका अनुसार बच्चाहरूले एकचोटि पैसा भएको मकै पाएपछि बारम्बार किनिदिन दबाब दिने गर्छन्।
# स्वास्थ्यमा गम्भीर खतरा :-
विज्ञहरूका अनुसार बजारमा चल्ने नोटहरूमा धुलो, ब्याक्टेरिया, किटाणु र विषाणु हुने सम्भावना उच्च हुन्छ। यस्ता नोटलाई खाद्यपदार्थसँग मिसाएर बेच्दा ती सूक्ष्म जीवाणु शरीरभित्र सर्न सक्ने खतरा रहन्छ।
# कानुनले स्पष्ट निषेध गरेको कार्य :-
नेपालको खाद्य ऐन २०२३ र खाद्य नियमावली २०२७ अनुसार खाद्य वस्तुमा अशुद्ध वा गैर–खाद्य वस्तु राखेर बिक्री गर्न पाइँदैन। यस्तो कार्यले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने देखिएमा कारवाहीको प्रावधान छ।
# नियमनकारी निकाय किन मौन?
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, जिल्ला प्रशासन कार्यालय र उपभोक्ता हित संरक्षण इकाईजस्ता निकायहरूलाई यसबारे जानकारी हुँदाहुँदै पनि आवश्यक कारवाही र अनुगमन नहुनु उपभोक्ताका लागि चिन्ताको विषय बनेको छ।
📌निष्कर्ष:-
बालबालिकालाई लक्षित गरिएका यस्ता ‘लोभलाग्दा’ तर ‘हानिकारक’ प्रवृत्तिमाथि तुरुन्त नियमन र नियन्त्रण आवश्यक देखिन्छ। अभिभावकहरूले सतर्कता अपनाउँदै सम्बन्धित निकायले कडाइका साथ यस्ता कार्य रोक्नु आजको आवश्यकता हो।