अजित कुमार भुजेल, श्रावण १२ गते, बिरगंज। शिक्षा क्षेत्रमा २५ वर्ष लामो अनुभव सँगालिएको बिरगंज पब्लिक कलेजले यसै शैक्षिक सत्र २०८२ बाट ब्याचलर इन इन्फर्मेशन टेक्नोलोजी (बीआईटी) कक्षा सञ्चालन गर्ने भएको छ।
मोफसलका विद्यार्थीलाई आधुनिक प्रविधिमूलक शिक्षा उपलब्ध गराउने उद्देश्यले सुरु गर्न लागिएको यो कार्यक्रमबारे आज आयोजित पत्रकार सम्मेलनमा कलेजका क्याम्पस प्रमुख डा. विनय श्रेष्ठले जानकारी गराए। उनका अनुसार २०५७ सालमा स्थापना भएको यो कलेजमा हाल प्लस टु, बीबीए, बीआईएम, बीबीएस, एमबीए, एमबीएस र एसीसीए जस्ता कार्यक्रम सञ्चालनमा छन्।
यस शैक्षिक सत्रदेखि थपिएको बीआईटी कार्यक्रममा पहिलो चरणमा ४८ जना विद्यार्थी भर्ना हुनेछन्। साथै, आर्थिक अवस्था कमजोर भए पनि अध्ययनमा रुचि राख्ने विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरिएको सहायक क्याम्पस प्रमुख डा. अरविन्द श्रेष्ठले बताए।
बीआईटी कक्षाका लागि एकैपटक ४८ विद्यार्थीलाई प्रयोगात्मक शिक्षण दिन सकिने अत्याधुनिक कम्प्युटर ल्याबको व्यवस्था गरिएको कलेजका को-अर्डिनेटर इन्जिनियर जय किसन सहनीले जानकारी दिए।
कम्प्युटर ल्याबसँगै डिजिटल लोजिक ल्याब, माइक्रोप्रोसेसर ल्याब, आइटीओ ल्याब लगायतका प्रयोगशालासमेत उपलब्ध गराइने कलेजले जनाएको छ।
पछिल्लो समय विद्यार्थीहरूबीच सूचना प्रविधि (आईटी) क्षेत्रमा बढ्दो आकर्षणलाई मध्यनजर गर्दै यो कार्यक्रम सञ्चालन गर्न लागिएको कलेजको भनाइ छ। पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालनमा ल्याइएको बीआईटी कार्यक्रम चार वर्षको रहनेछ र यसमा जम्मा आठ सेमेस्टर रहने प्रमुख श्रेष्ठले जानकारी गराए।
साथै, पुस्तकालयबाट हरेक विद्यार्थीलाई पाठ्यक्रमअनुसार आवश्यक पुस्तकहरू उपलब्ध गराइने कलेजले जनाएको छ।