अजित कुमार भुजेल , बिरगंज । नेपाली कांग्रेस पर्सा जिल्लाको राजनीतिक इतिहासमा पहिलोपटक पार्टीभित्रैबाट निर्वाचनमा अन्तरघात गर्ने क्षेत्रीय सभापति अरबिन्द गुप्तालाई नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले कडा कारबाही गर्दै पार्टीबाट निष्कासन गरेको छ।
अबदेखि गुप्ता पार्टीको साधारण सदस्य समेत नरहने निर्णय भएको छ।अनुशासन समितिको २०८२ साल असार १७ गते बसेको बैठकले संघीय तथा प्रदेश निर्वाचनका क्रममा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध गुप्ता सक्रिय रुपमा अन्तरघातमा संलग्न रहेको पुष्टि भएपछि सो निर्णय गरेको हो। यस घटनालाई नेपाली कांग्रेस पर्साले “पार्टी इतिहासकै पहिलो उदाहरणीय अनुशासन कारबाही” को रूपमा लिएको छ।
गुप्तामाथि पार्टी उम्मेदवारहरूसँग असहयोग गर्नु, रणनीतिक ढंगले अन्तरघात प्रोत्साहन गर्नु, र स्थानीय निर्वाचनमा उम्मेदवारको टिकट बिक्री गर्ने जस्ता गम्भीर आरोप लागेका थिए।
पर्सा कांग्रेसका कार्यवाहक सभापतिले घटनाप्रति कडा चेतावनी दिँदै भने, “अब कांग्रेसभित्र ढोका एउटै खोल्ने तर मन र योजना प्रतिपक्षसँग मिलाउनेहरूलाई सहन सकिने छैन। अनुशासन उल्लंघन र अन्तरघात गर्ने जो–कोहीलाई पनि कारबाहीको भागीदार बनाइनेछ। पार्टीलाई हराउने खेल खेल्नेहरूलाई न त नेताको मान्यता दिइन्छ, न सदस्यताको अधिकार!”
यस्तै, अनुशासन समितिका पर्सा संयोजक रमेश पाण्डेले प्रतिक्रिया दिँदै भने, “यो कारबाही चेतावनी हो—कांग्रेसभित्र रहेर कांग्रेसलाई हराउनेहरू अब उम्कन सक्दैनन्। हामी अनुशासन र संगठनको हितमा कुनै सम्झौता गर्दैनौं। अन्तरघातलाई प्रोत्साहन गर्ने, टिकट बेच्नेहरूलाई एकपछि अर्को गरी कारबाहीको दायरामा ल्याइनेछ।”
पार्टीले यस्ता घटनालाई पुनः नदोहरिने सुनिश्चित गर्न निगरानी संयन्त्र र सुधार प्रक्रिया थप कडा बनाउने तयारी गरिरहेको जनाइएको छ। कार्यकर्ताहरूले समेत यस कारबाहीलाई “सकारात्मक र साहसी कदम” का रूपमा लिएका छन्।