अजित कुमार भुजेल , बिरगंज । नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाकक्षमा नवनिर्मित पुस्तकालयको पर्सा अध्यक्ष अनुप तिवारीले उद्घाटन गरेका थिए ।
बुधबार पत्रकार महासंघ पर्सा शाखाको सभाकक्षमा बिरगंज लेडिज सर्कलले डेढ लाख रुपैयाँको लागतमा पुस्तकालय निर्माण गरेको थियो ।
अध्यक्ष तिवारीले बिरगंज लेडिज सर्कलले करिब एक दशक देखि गर्दै आएको विभिन्न सामाजिक कार्यक्रम अन्तर्गत पत्रकारहरूको लागि पुस्तकालय बनाएकोमा खुसी व्यक्त गर्दै पत्रकारहरूको लागी अध्ययन पनि आवश्यक रहेकाले नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आउने पत्रकारले लाइब्रेरीमा बसेर पढ्न सक्ने र ज्ञान लिन सक्ने बताए ।
अध्यक्ष तिवारीले मधेस प्रदेशमै सुविधा सम्पन्न भवनमा नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा पुस्तकालय स्थापना गर्नेलाई धन्यवाद व्यक्त गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै बिरगंज लेडिज सर्कलकी अध्यक्ष प्रीति खेतानले पनि पत्रकारहरूको लागि पुस्तकालयको आवश्यकतालाई पूरा गरेकोमा खुसी लागेको बताइन् । साथै उनले पत्रकारहरूका लागि अगामी दिनमा पनि आवश्यकता अनुसारको सहयोग गरिरहने आश्वासन पनि दिइन् ।
कार्यक्रमको सहजीकरण बिरगंज लेडिज सर्कलकी उपाध्यक्ष खुश्बु सिंघानीयाले गरेकी थिइन् ।