पर्सा पोस्ट, जेठ १ गते, वीरगञ्ज ।
खशीको मासुको मूल्य निर्धारण सम्बन्धमा जिल्ला प्रशासन कार्यालय पर्साको सभाहलमा आज सम्पन्न सर्वदलीय तथा सरोकारवालाबीचको बृहत् छलफलले पर्साभर मासुको मूल्यलाई व्यवस्थित बनाउने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहाल को अध्यक्षतामा बसेको बैठकमा पर्साका १४ वटा गाउँपालिका तथा वीरगञ्ज महानगरपालिका का प्रतिनिधि, पशु क्वारेन्टाइन कार्यालय, मासु व्यवसायी, उपभोक्ता अधिकारकर्मी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
बैठकले गाउँपालिका क्षेत्रभित्र हाल कायम रहेको प्रतिकेजी १००० रुपैयाँको खशीको मासुको मूल्यलाई यथावत राख्ने निर्णय गरेको छ। अब गाउँपालिका क्षेत्रमा १००० रुपैयाँभन्दा बढी मूल्यमा खशीको मासु बिक्री–वितरण गर्न नपाइने निर्णय गरिएको छ।
त्यसैगरी वीरगञ्ज महानगरपालिका क्षेत्रमा भने खशी खरिद, ढुवानी, लोडिङ–अनलोडिङ, कर, स्टोर भाडा, श्रमिक खर्च, काटिसकेपछिको वेस्टेज तथा व्यवसायीको उचित नाफासमेतलाई आधार मानेर वास्तविक खुद लागत मूल्य निर्धारण गरिएको बैठकले जनाएको छ। सोही आधारमा तत्कालका लागि प्रतिकेजी ११०० रुपैयाँमा खशीको मासु बिक्री गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा ले जानकारी दिनुभयो।
बैठकमा सहभागी प्रतिनिधिहरुले उत्पादक, उपभोक्ता तथा व्यवसायी सबै पक्ष मर्कामा नपर्ने गरी सन्तुलित मूल्य कायम गर्नुपर्नेमा जोड दिएका थिए। साथै बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक मूल्य वृद्धि गर्ने तथा गुणस्तरहीन मासु बिक्री गर्ने कार्यलाई नियन्त्रण गर्न नियमित बजार अनुगमनलाई समेत प्रभावकारी बनाइने निर्णय गरिएको छ।
बैठकबाट स्थानीय तहभित्र सञ्चालन हुने मासु पसल अनिवार्य रूपमा दर्ता तथा नवीकरण गर्नुपर्ने, सरसफाइ मापदण्ड पालना गर्नुपर्ने र प्रशासन, सुरक्षा निकाय तथा स्थानीय तहको समन्वयमा नियमित अनुगमन गरिने निर्णयसमेत गरिएको छ।