पर्सा पोस्ट | बैशाख २९ गते | वीरगञ्ज
वीरगञ्जस्थित नेपाल–भारत सीमावर्ती मितेरी पुल क्षेत्रमा सोमबार साँझ उत्पन्न भएको तनावपूर्ण घटनापछि सशस्त्र प्रहरी बलले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। सशस्त्र प्रहरी बल भन्सार गुल्म वीरगञ्जले पत्रकारमाथि अभद्र व्यवहार, हातपात तथा गालीगलौज भएको आरोप अस्वीकार गर्दै मोबाइल समेत तत्काल फिर्ता गरिएको जनाएको छ।
सशस्त्र प्रहरी बल भन्सार गुल्म वीरगञ्जका डिएसपी बिकाश अधिकारीका अनुसार सोमबार साँझ करिब पाँच बजेतिर भारतीय अटोरिक्सा चालकहरूले ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि हातपात तथा दुर्व्यवहार गरेपछि स्थिति तनावपूर्ण बनेको थियो। घटनापछि थप सुरक्षा बल परिचालन गरिएको र मितेरी पुल क्षेत्र केही समयका लागि तनावग्रस्त बनेको उनले बताए।
डिएसपी अधिकारीका अनुसार स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चार जना भारतीय अटोरिक्सा चालकलाई नियन्त्रणमा लिनुका साथै चार वटा अटोरिक्सा समेत नियन्त्रणमा लिएको थियो। भीड अत्यधिक बढेपछि अवस्था नियन्त्रण बाहिर जान सक्ने जोखिम देखिएकाले सामान्य लाठीचार्ज गरी भीडलाई भारतीय सीमातर्फ धपाइएको उनले जानकारी दिए। घटनाका क्रममा केही अटोरिक्सा चालक भने भाग्न सफल भएका थिए।
यसैबीच पत्रकार सञ्जय कुशवाहाको मोबाइल खोसिएको विषयले सामाजिक सञ्जाल तथा पत्रकारिता वृत्तमा चर्चा पाएपछि सशस्त्र प्रहरीले त्यसबारे पनि स्पष्टिकरण दिएको छ। डिएसपी अधिकारीका अनुसार पत्रकार कुशवाहा बिना प्रेस कार्ड र प्रेस ज्याकेट घटनास्थलमा लुकीछिपी मोबाइलबाट भिडियो तथा फोटो खिचिरहेको अवस्थामा प्रहरी स्टाफले शंकाको आधारमा मोबाइल नियन्त्रणमा लिएको थियो।
“पछि उहाँले आफू पत्रकार भएको परिचय दिनुभयो। त्यसपछि घटनास्थलमै रहेका प्रहरी कर्मचारी एन ठाकुरले मोबाइल फिर्ता गर्न खोज्नुभएको थियो,” डिएसपी अधिकारीले भने, “तर उहाँले ‘अब इन्चार्जसँगै मोबाइल लिन्छु’ भन्नुभएको थियो। त्यसपछि मसँग भेट भएपछि सम्पूर्ण विषय बुझेर तत्काल मोबाइल फिर्ता गरिएको हो।”
घटनापछि सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्थापन, भारतीय सवारी साधनको गतिविधि, पत्रकारको कार्यक्षेत्र तथा सुरक्षाकर्मीको व्यवहारबारे नयाँ बहस सुरु भएको छ। स्थानीयवासी तथा नागरिक समाजका प्रतिनिधिहरूले सीमा क्षेत्रमा सुरक्षा संवेदनशीलता कायम राख्दै पत्रकार तथा सर्वसाधारणको अधिकारको समेत सम्मान हुनुपर्ने बताएका छन्।
सीमाक्षेत्रमा बेला–बेलामा हुने यस्ता विवादले नेपाल–भारत आवतजावत तथा स्थानीय सुरक्षा व्यवस्थापनमा चुनौती थप्ने गरेको भन्दै सम्बन्धित निकायबीच समन्वय र संयमता आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।