पर्सा पोस्ट, चैत २१ गते, वीरगञ्ज ।
श्री हनुमान जन्मोत्सवको पावन अवसरमा वीरगञ्जमा भव्य तथा ऐतिहासिक शोभा यात्रा सम्पन्न भएको छ। विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्जको आयोजनामा हरेक वर्षझैँ यस वर्ष पनि विशेष उत्साहका साथ शोभा यात्रा निकालिएको हो।
दिउँसो २ बजे वीरगञ्जको घण्टाघरबाट सुरु भएको शोभा यात्रा माईस्थान मन्दिर, हनुमान मन्दिर, विर्तामाई मन्दिर, छप्कैया छठघाट, रेल्वे रोड, अमर चौक, पञ्चमुखी हनुमान मन्दिर, रामटोल तथा गहवा हुँदै पुनः घण्टाघरमा पुगेर समापन गरिएको थियो।
शोभा यात्रामा विभिन्न झाँकी, बाजागाजा, सांस्कृतिक प्रस्तुति तथा धार्मिक झल्को दिने झाँकीहरूले सहभागीहरूको ध्यान आकर्षित गरेका थिए। वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाबाट आएका टोलीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो भने हजारौं भक्तजनहरूले सहभागिता जनाउँदै भक्ति, श्रद्धा र धार्मिक आस्था प्रकट गरेका थिए।
कार्यक्रमलाई व्यवस्थित, सभ्य र मर्यादित बनाउन करिब २ हजार स्वयंसेवक परिचालन गरिएको आयोजकले जनाएको छ। शोभा यात्रालाई शान्तिपूर्ण बनाउन वीरगञ्ज महानगरपालिका, जिल्ला प्रशासन कार्यालय पर्सा, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालले संयुक्त रूपमा सुरक्षा व्यवस्थापन गरेका थिए।
त्यसैगरी, गर्मी मौसमलाई मध्यनजर गर्दै विभिन्न स्थानहरूमा भक्तजनहरूको लागि खानेपानी, चिसो पानी, जुस, सरबत तथा बिस्कुटको निःशुल्क व्यवस्था गरिएको थियो। स्वास्थ्य सुरक्षाका लागि केही स्थानमा प्राथमिक उपचार सेवासमेत उपलब्ध गराइएको आयोजकले जानकारी दिएको छ।
यस अवसरमा पर्सा जिल्लाभर रहेका विभिन्न हिन्दू संघसंस्था, क्लब तथा धार्मिक संस्थाहरूले पनि आ–आफ्नो क्षेत्रमा शोभा यात्रा तथा पूजाआजा कार्यक्रम आयोजना गरी हनुमान जन्मोत्सव भव्य रूपमा मनाएका छन्।
समग्रमा, यस वर्षको हनुमान जन्मोत्सव वीरगञ्जमा भव्य, शान्तिपूर्ण तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ, जसले धार्मिक सद्भाव र सामाजिक एकतालाई थप मजबुत बनाएको आयोजकहरूको विश्वास रहेको छ।