पर्सा पोस्ट, बैशाख ०७ गते, वीरगञ्ज ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, वीरगञ्जमा १९औँ स्थापना दिवस तथा वार्षिक उत्सव भव्य र गरिमामय वातावरणमा सम्पन्न भएको छ। आकर्षक सजावट, पुष्पमालाले सिँगारिएको मञ्च र सुरक्षाकर्मीहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई थप भव्य बनाएको थियो।
समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी बल मधेश प्रदेश प्रमुख कृष्ण ढकाल रहेका थिए भने कार्यक्रमको अध्यक्षता गणपति मोहन बहादुर क्षेत्रीले गरेका थिए। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक सुदीप पाठकसहित विभिन्न सुरक्षा निकायका प्रतिनिधि, विशिष्ट व्यक्तित्व तथा आमन्त्रित अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले सशस्त्र प्रहरी बलले स्थापना कालदेखि नै राष्ट्रको सुरक्षा, सीमा व्यवस्थापन तथा विपद् उद्धारमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताए। उनले सशस्त्र प्रहरी बललाई केवल सुरक्षा निकाय नभई राष्ट्रको भरोसाको संस्थाका रूपमा व्याख्या गर्दै सीमाको रक्षा, शान्ति सुरक्षा कायम राख्ने र विपद् व्यवस्थापनमा यसको भूमिका अत्यन्त प्रशंसनीय रहेको उल्लेख गरे।
उनले आगामी दिनमा संगठनलाई अझ अनुशासित, जिम्मेवार र प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउँदै सुरक्षाकर्मीहरूको समर्पण, त्याग र कर्तव्यनिष्ठा नै संस्थाको प्रमुख शक्ति भएको बताए। साथै संगठनभित्र व्यावसायिकता र नैतिकताको उच्च मापदण्ड कायम राख्न आग्रह गरे।
समारोहका अवसरमा सशस्त्र प्रहरी बलको इतिहास, उपलब्धि तथा वर्तमान भूमिकाबारे जानकारी गराइएको थियो। उत्कृष्ट कार्य गर्ने सुरक्षाकर्मीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै उनीहरूको योगदानको उच्च मूल्यांकन गरिएको थियो।
कार्यक्रमलाई थप आकर्षक बनाउन सांस्कृतिक प्रस्तुति, अनुशासित परेड प्रदर्शन तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो, जसले उपस्थित दर्शकहरूको ध्यान खिच्न सफल भयो।
समारोहमा सहभागीहरूले संगठनप्रति समर्पण, अनुशासन र राष्ट्रसेवाको भावनालाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाह गर्ने अठोट व्यक्त गरेका थिए।