पर्सा पोस्ट, चैत ०६ गते, रक्सौल ।
आगामी चैती छठ पर्वलाई लक्षित गर्दै रक्सौलस्थित सूर्य मन्दिर समितिको कार्यकारिणी बैठक शुक्रबार थाना परिसरमा सम्पन्न भएको छ। बैठक पदेन अध्यक्ष तथा स्थानीय विधायक प्रमोद कुमार सिन्हाको अध्यक्षतामा सम्पन्न भएको हो।
बैठकमा संरक्षक तथा अनुमण्डल पदाधिकारी मनीष कुमार, थानाध्यक्ष हेमन्त सिंह (एएसपी) सहित समितिका पदाधिकारी र सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
बैठकलाई सम्बोधन गर्दै विधायक सिन्हाले छठ पर्व नजिकिँदै गर्दा सूर्य मन्दिरस्थित छठ घाटको सरसफाइ, व्यवस्थापन र पूर्वाधार तयारीमा विशेष ध्यान दिन निर्देशन दिएका छन्। उनले समयमै सम्पूर्ण तयारी पूरा गर्न आग्रह गर्दै छठलाई व्यवस्थित, सुरक्षित र भव्य बनाउन सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताए।
उनले निकट भविष्यमा समितिको नयाँ कार्यकारिणी गठन गर्ने, मन्दिर परिसरमा रहेका सटर (शेड) पसलहरूको भाडा नवीकरण तथा नयाँ सम्झौता प्रक्रिया अघि बढाउने विषयमा समेत छलफल भएको जानकारी दिए।
त्यस्तै, अनुमण्डल पदाधिकारी मनीष कुमार र थानाध्यक्ष हेमन्त सिंहले छठ पर्वका अवसरमा कडा सुरक्षा व्यवस्था मिलाइने प्रतिबद्धता जनाएका छन्। उनीहरूले व्रतालु तथा श्रद्धालुहरूको सहज आवागमन, भीड व्यवस्थापन र सुरक्षालाई प्राथमिकतामा राखिने बताए।
मन्दिर समितिका सचिव शम्भु प्रसाद चौधरी, कोषाध्यक्ष गणेश अग्रवाल तथा मिडिया प्रभारी रजनीश प्रियदर्शीले संयुक्त रूपमा मन्दिर परिसर तथा पोखरीको सरसफाइ कार्य केही दिनदेखि निरन्तर रूपमा भइरहेको जानकारी दिएका छन्। साथै, छठ पर्वअघि भव्य पण्डाल निर्माण, आकर्षक विद्युत सजावट तथा आवश्यक पूर्वाधार विस्तार गरिने योजना रहेको जनाइएको छ।
बैठकमा सिटी म्यानेजर अविनाश कुमार, सरसफाइ प्रभारी कन्हैया यादव, वडा पार्षद सुरेश कुमार, दीपक कुमार गुप्ता, नगर परिषद्का प्रतिनिधिहरू तथा समितिका अन्य सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
बैठकसम्बन्धी विस्तृत जानकारी मिडिया प्रभारी रजनीश प्रियदर्शीले दिएका हुन्।