पर्सा पोस्ट , चैत्र ०२ गते , वीरगञ्ज ।
पर्सा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरि पन्तले सपथ ग्रहण गर्न जानु अघि जेन्जी आन्दोलनका सहिद परिवारलाई भेटेर सम्मान व्यक्त गरेका छन्।
आज सपथ ग्रहणका लागि काठमाडौँ प्रस्थान गर्नु अघि सांसद पन्त वीरगञ्ज–स्थित जेन्जी आन्दोलनका सहिद असाब आलम ठकुराईको घरमै पुगेर उनकी आमा नजला खातुन र भाइ मुराद आलम ठकुराईसँग भेटघाट गरेका हुन्।
भेटका क्रममा सांसद पन्तले सहिद परिवारप्रति सम्मान व्यक्त गर्दै आगामी दिनमा सहिद परिवारका सदस्यमध्ये एक जनालाई रोजगारी दिलाउन बन्ने सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले जेन्जी आन्दोलनकै कारण देशमा परिवर्तन सम्भव भएको भन्दै आन्दोलनका सहिदहरूको बलिदानीलाई उच्च सम्मान गर्ने बताए।
सांसद पन्तले सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान प्रकट गर्दै आफूले चुनावअघि गरेको वाचा पूरा गर्ने प्रतिबद्धता पनि दोहोर्याए। “म सबैको मायार आशीर्वादले विजयी भएको हुँ, त्यसैले म कुनै एक समूहको होइन, सम्पूर्ण जनताको प्रतिनिधि हुँ,” उनले भने। उनका अनुसार पर्साको विकास, युवालाई रोजगारी र सहिद परिवारको सम्मान आफ्नो प्राथमिकतामा रहनेछ।
उल्लेखनीय छ कि जेन्जी आन्दोलनका क्रममा भदौ २४ गते कोटेश्वरमा गोली लागेर असाब आलम ठकुराईको घटनास्थलमै मृत्यु भएको थियो। सहिद आलमको परिवारमा श्रीमती, बुबा, आमा र भाइहरू रहेका छन्।
सांसद पन्तको सहिद परिवारप्रति देखिएको सम्मान र प्रतिबद्धताले स्थानीयवासीले सकारात्मक सन्देशका रूपमा लिएको बताएका छन्।