पर्सा पोस्ट, फागुन २२ गते, वीरगञ्ज। वीरगञ्जमा युवाहरूलाई खेलकुदमार्फत एकताबद्ध गर्दै देश–विदेशसम्म आफ्नो पहिचान बनाउन सहयोग गर्ने उद्देश्यका साथ “मारवाडी प्रिमियर लिग–३” क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।
मारवाडी युवा मञ्च र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा स्वर्गीय सुशील कुमार खेतान (टिपु) को स्मृतिमा उक्त प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। प्रतियोगिता यही फागुन २९ गते (१३ मार्च २०२६), शुक्रबार देखि वीरगञ्जको आदर्शनगर रंगशाला मा सुरु हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा १० वटा टिम सहभागी हुनेछन् भने कुल २३ वटा खेल खेलाइने कार्यक्रम तय गरिएको छ। सहभागी टिमहरूबीच प्रतिस्पर्धात्मक र रोमाञ्चक खेल हुने अपेक्षा आयोजकले गरेका छन्।
प्रतियोगितामा बीटीएस प्लास्टर्स, टाइगर्स, जगुआर, कञ्चनजंगा लगायतका टिमहरूले सहभागिता जनाउनेछन्। उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई विजेता घोषणा गर्दै आकर्षक पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको छ।
प्रतियोगिताका संयोजक केशव खेतान का अनुसार यस प्रकारका खेलकुद गतिविधिले वीरगञ्जमा क्रिकेटप्रतिको आकर्षण बढाउनुका साथै युवाहरूलाई सकारात्मक गतिविधितर्फ उन्मुख गराउने विश्वास गरिएको छ। उनले स्थानीय खेलाडीहरूको उत्साहजनक सहभागिता रहने र खेलप्रेमी दर्शकहरूको उल्लेख्य उपस्थितिको अपेक्षा गरिएको बताए।
आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य खेलकुदमार्फत युवाहरूलाई एकताबद्ध गर्नु, स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नु तथा स्वर्गीय सुशील कुमार खेतानको स्मृतिलाई सम्मान गर्नु रहेको छ। साथै यस्ता प्रतियोगिताले वीरगञ्जमा क्रिकेट खेलको विकास, खेल संस्कृतिको प्रवर्द्धन तथा स्थानीय प्रतिभालाई देश–विदेशमा आफ्नो पहिचान बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
प्रतियोगितालाई भव्य तथा व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक तयारी तीव्र रूपमा अघि बढाइएको आयोजक संस्थाले जनाएको छ।