पर्सा पोस्ट, फागुन २१ गते, वीरगन्ज।
देशभर प्रतिनिधि सभा सदस्य पदका लागि आज मतदान जारी रहेको छ। सोही क्रममा पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा पनि शान्तिपूर्ण वातावरणमा मतदाताहरूले उत्साहका साथ आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।
पर्सा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पर्ने वीरगञ्ज महानगरपालिका वडा नं. २ छपकैया स्थित मतदान केन्द्रमा बिहानैदेखि मतदाताहरूको उल्लेखनीय भीड देखिएको छ। बिहान सबेरैदेखि नै मतदाता मतदान केन्द्रमा पुगेर पालोअनुसार मतदान गरिरहेका छन्।
विशेषगरी महिला दिदीबहिनीहरूको उपस्थिती उल्लेखनीय देखिएको छ। मतदान केन्द्र परिसरमा महिला मतदाताहरू लामबद्ध भएर आफ्नो मताधिकार प्रयोग गरिरहेको दृश्यले चुनावी माहोललाई अझ उत्साहपूर्ण बनाएको छ।
वडा नं. २ मा कुल ५ हजार ५४० जना मतदाता रहेका छन्। समाचार तयार पार्दासम्म करिब २ हजार ५०० जनाको हाराहारीमा मतदान भइसकेको निर्वाचन अधिकृतले जानकारी दिएका छन्।
मतदान केन्द्रमा सुरक्षा व्यवस्थासमेत कडा बनाइएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीको संयुक्त टोलीले सुरक्षा व्यवस्थालाई चुस्त बनाएको छ भने मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा अघि बढिरहेको छ।
मतदाताहरूले लोकतान्त्रिक अधिकार प्रयोग गर्दै विकास, सुशासन र स्थायित्वका लागि आफूले रोजेको उम्मेदवारलाई मत दिइरहेको बताएका छन्। दिनभर मतदान जारी रहने भएकाले अझै धेरै मतदाताहरू मतदान केन्द्रमा पुग्ने अपेक्षा गरिएको छ।
पर्साका सबै निर्वाचन क्षेत्रमा अहिले शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन कार्यालयले जनाएको छ।