पर्सा पोस्ट, फागुन १३ गते, वीरगञ्ज ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वीरगञ्ज–२० पटेलनगरमा कोणसभा सम्पन्न भएको छ। मंगलबार साँझ पर्सा क्षेत्र नम्बर–१ अन्तर्गत पटेलनगर चोकमा स्थानीयहरूको उल्लेख्य उपस्थितिमा कार्यक्रम आयोजना गरिएको हो।
कोणसभालाई सम्बोधन गर्दै रास्वपा पर्सा सभापति एवं क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हरि पन्तले नेपाली जनता अहिले सचेत र जागरुक भइसकेकाले नेताहरूले अब जनतालाई झुक्याउन नसक्ने बताए। उनले विगत ३६ वर्षदेखि नेताहरूले जनतालाई भ्रममा राख्दै आएको आरोप लगाउँदै अब भने जनता नझुक्किने दाबी गरे। साथै यसपटक क्षेत्र नम्बर–१ का मतदाताले आफूलाई जिताएर पठाउनेमा आफू ढुक्क रहेको पनि उनले बताए।
कृष्ण पासवानले सञ्चालन गरेको उक्त कोणसभामा जनार्दन सिंह, सगीर आलम, महमुद्दिन अन्सारी, चन्दन यादवलगायत नेताहरूले पनि मन्तव्य व्यक्त गरेका थिए। सभामा पटेलनगरका स्थानीय बासिन्दाहरूको ठूलो सहभागिता रहेको आयोजकले जनाएको छ।