पर्सा पोस्ट, फागुन १४ गते, वीरगन्ज।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हरि पन्तले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्। मंगलबार उनले वीरगन्ज महानगरपालिका–३० लालपर्सामा कोणसभा तथा वडा नम्बर–२ घुसुकपुरमा घरदैलो कार्यक्रम सम्पन्न गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका हुन्।
लालपर्सामा दीपेन्द्र मण्डलको अध्यक्षतामा आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार पन्तले देशमा ठोस परिवर्तनका लागि मतदाताले यसपटक “मत परिवर्तन” गर्नुपर्नेमा जोड दिए। उनले विगतका परम्परागत राजनीतिक अभ्यासबाट अपेक्षित विकास सम्भव नभएको उल्लेख गर्दै नयाँ सोच, स्पष्ट योजना र जवाफदेहितासहित रास्वपा चुनावी मैदानमा उत्रिएको बताए।
“अबको संसद् जनताको वास्तविक आवाज बोल्ने हुनुपर्छ,” पन्तले भने, “युवा शक्ति, पारदर्शिता र विकासमुखी एजेन्डासहित हामी अघि बढेका छौं।”
कार्यक्रममा रास्वपाका जिल्ला सहसचिव तथा समानुपातिक उम्मेदवार कृष्णा पासवानको सञ्चालन रहेको थियो। स्थानीय विनोद मण्डल, सञ्जय मण्डल, गम्भीरा गुप्ता, निजामुद्दीन अन्सारी, सुवासा यादव र धनपत ठाकुरलगायत वक्ताहरूले आफ्नो धारणा राख्दै यसपटक घण्टी छापमा मतदान गरी पन्तलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरे। वक्ताहरूले क्षेत्रको समग्र विकास, रोजगारी सृजना र सुशासनका लागि पन्त नै उपयुक्त विकल्प भएको दाबी गरे।
त्यसैगरी घुसुकपुरमा आयोजित घरदैलो कार्यक्रममा उम्मेदवार पन्तले घर–घर पुगेर स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना एजेन्डा प्रस्तुत गरेका थिए। रास्वपा नेता महम्मद सम्साद आलम, शन्नी गुप्ता र तब्रेज शेखको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय बासिन्दाले फूलमाला तथा नारासहित पन्तलाई स्वागत गरेका थिए।
भेटघाटका क्रममा स्थानीयले यसपटक परिवर्तनका पक्षमा उभिँदै पन्तलाई संसद्मा पठाउन पूर्ण सहयोग गर्ने आश्वासन दिएका छन्। चुनावी अभियान तीव्र बन्दै जाँदा पर्सा क्षेत्र नम्बर १ मा रास्वपाको सक्रियता र जनसमर्थन उल्लेख्य देखिएको स्थानीयले बताएका छन्।