पर्सा पोस्ट, फागुन १४ गते, बिरगंज ।
नेपाली कांग्रेसका तर्फबाट पर्सा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अनिल रुङटाको घरदैलो अभियान लक्ष्मणवामा दिनप्रतिदिन प्रभावशाली बन्दै गएको छ। Nepali Congress का उम्मेदवार रुङटा वीरगञ्ज महानगरपालिका वडा नम्बर–१५ अन्तर्गत पर्ने लक्ष्मणवाका विभिन्न टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट, संवाद तथा घरदैलो कार्यक्रममा सक्रिय रूपमा सहभागी भइरहेका छन्।
स्थानीय नागरिकका गुनासा, सुझाव र अपेक्षा सुन्दै उनले विकास निर्माणलाई तीव्रता दिने, रोजगारीका अवसर सिर्जना गर्ने, शिक्षा र स्वास्थ्य सेवामा सुधार ल्याउने तथा पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। घरदैलो अभियानका क्रममा युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेखनीय सहभागिताले लक्ष्मणवाको चुनावी माहोल थप उत्साहपूर्ण बनेको देखिएको छ।
वडा नम्बर–१५ का विभिन्न बस्तीमा आयोजित भेटघाट कार्यक्रममा रुङटाले समृद्ध वीरगञ्ज निर्माणका लागि राजनीतिक स्थायित्व, सुशासन र पारदर्शिता अपरिहार्य रहेको धारणा राखे। उनले स्थानीय सरकार, प्रदेश र संघबीच प्रभावकारी समन्वयमार्फत दीगो विकास सम्भव हुने उल्लेख गरे।
स्थानीयवासीहरूले आफ्नो क्षेत्रको सडक, ढल, खानेपानी, स्वास्थ्य चौकी तथा शैक्षिक पूर्वाधार सुधारको माग राख्दै सक्षम र जवाफदेही नेतृत्व आवश्यक रहेको बताएका छन्। उनीहरूले विकास र परिणाममुखी कामको अपेक्षासहित रुङटाप्रति समर्थन जनाएका छन्।
त्यसैगरी महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले महिला उद्यमशीलता प्रवर्द्धन गर्दै आयआर्जनका कार्यक्रम सञ्चालन गरिने रुङटाले बताए। सीपमूलक तालिम, सहुलियतपूर्ण ऋण, साना तथा मझौला उद्यम प्रवर्द्धन र महिला सहकारी सशक्तीकरणमार्फत महिलालाई आर्थिक रूपमा सबल बनाउने उनको योजना रहेको छ। “महिला सशक्तीकरण बिना समृद्ध समाज सम्भव छैन,” उनले भने, “घरपरिवारदेखि राष्ट्र निर्माणसम्म महिलाको भूमिका महत्वपूर्ण छ, त्यसैले अवसर र पहुँच सुनिश्चित गरिनेछ।”
यसका साथै उनले युवा स्वरोजगार कार्यक्रम, कृषि आधुनिकीकरण, साना उद्योग प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजारीकरणमा विशेष पहल गरिने बताएका छन्। आगामी निर्वाचनमा मतदाताले विकास, स्थायित्व र सुशासनको पक्षमा मतदान गर्ने विश्वास व्यक्त गर्दै उनले लक्ष्मणवासहित समग्र वीरगञ्जको समुन्नत भविष्य निर्माणमा सहकार्यका लागि आह्वान गरेका छन्।