पर्सा पोस्ट, फागुन ०६ गते, वीरगञ्ज।
दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूलाई खेलकुदमार्फत सशक्त बनाउने उद्देश्यले वीरगञ्जस्थित त्रिजुद्ध माध्यमिक विद्यालयमा ५ दिने विशेष नेत्रहीन (ब्लाइन्ड) क्रिकेट प्रशिक्षण कार्यक्रम सुरु भएको छ। “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” तथा “दबिएको आवाज बुलन्द होस्, अपाङ्गता अधिकार हनन नहोस्” भन्ने मूल नारासहित कार्यक्रम सञ्चालन गरिएको हो।
नेपाल नेत्रहिन क्रिकेट संघ र मधेश प्रदेश नेत्रहिन क्रिकेट संघको संयुक्त आयोजनामा सञ्चालन भइरहेको प्रशिक्षण कार्यक्रमको उद्घाटन मधेश प्रदेश नेत्रहिन क्रिकेट संघका अध्यक्ष महेश साहको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि उमेश मिश्रा रहेका थिए भने विशिष्ट अतिथिका रूपमा नेपाल इनोभेटिभ सोसाइटी वीरगञ्जका अध्यक्ष कमल चौगाई, समाजसेवी रुपशिला जैसवाल, बन्दना शर्मा तथा मार्तिन मोक्तानको उपस्थिति रहेको थियो। अतिथिहरूले दृष्टिविहीन खेलाडीहरूको आत्मविश्वास अभिवृद्धि, प्रतिभा प्रस्फुटन र सामाजिक स्वीकार्यता बढाउन यस्ता कार्यक्रम अत्यन्त प्रभावकारी हुने धारणा व्यक्त गरे।
५ दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा २२ जना विद्यार्थी सहभागी छन्। उनीहरूलाई क्रिकेटका आधारभूत सीप, बलिङ, ब्याटिङ, फिल्डिङ तथा खेलका नियम सम्बन्धी व्यवहारिक अभ्यास गराइने आयोजकले जनाएको छ। दृष्टिविहीन क्रिकेटमा प्रयोग हुने घण्टी जडित विशेष बल तथा ध्वनि संकेतको सहायताले खेल सञ्चालन गरिने भएकाले खेलाडीहरूको समन्वय क्षमता, एकाग्रता र आत्मविश्वास बढ्ने अपेक्षा गरिएको छ।
आयोजकका पदाधिकारीहरूले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्दै खेलकुदमार्फत सामाजिक समावेशीकरण मजबुत बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताएका छन्। स्थानीय सरोकारवालाहरूले भने दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा पहिचान र प्रोत्साहनका लागि राज्य र निजी क्षेत्रबाट थप सहयोग आवश्यक रहेको औंल्याएका छन्।
प्रशिक्षण कार्यक्रमले सहभागी दृष्टिविहीन खेलाडीहरूलाई भविष्यमा प्रदेशस्तरीय तथा राष्ट्रिय टोलीमा प्रतिस्पर्धा गर्ने आधार तयार पार्ने विश्वास लिइएको आयोजकको भनाइ छ।