पर्सा पोस्ट, फागुन ०५ गते, वीरगञ्ज ।
नेपाली कांग्रेसका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार अनिल रुङटाले वीरगञ्ज महानगरपालिका–२ छपकैयामा व्यापक घरदैलो तथा जनता भेटघाट कार्यक्रम सञ्चालन गरेका छन्। स्थानीय टोल–बस्तीमा पुगेर उनले सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्दै जनजीवनका समस्या, अपेक्षा र सुझावहरू संकलन गरेका थिए। कार्यक्रम बुथ सभापति फिरोज आलमको अध्यक्षतामा सम्पन्न भएको थियो भने क्षेत्रीय तथा वडा तहका नेता–कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।
घरदैलोका क्रममा रुङटाले आगामी निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा मतदान गर्न आग्रह गर्दै सबै समुदायको समान सहभागिता र अवसर सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले मधेसी, मुस्लिम, महिला, अल्पसंख्यक तथा सीमान्तकृत वर्गको अधिकार संरक्षण आफ्नो राजनीतिक जिम्मेवारी रहने स्पष्ट पारे।
उनले पर्साको दीर्घकालीन विकासलाई केन्द्रमा राख्दै वीरगञ्जलाई देशकै सशक्त औद्योगिक तथा आर्थिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य प्रस्तुत गरे। वीरगञ्ज–पथलैया क्षेत्रलाई व्यवस्थित औद्योगिक करिडोरका रूपमा विस्तार गर्ने, नयाँ उद्योग भित्र्याउने, लगानीमैत्री वातावरण निर्माण गर्ने तथा रोजगारीका अवसरहरू सिर्जना गर्ने योजना उनले सुनाए।
युवालाई विदेशिनु नपर्ने अवस्था सिर्जना गर्दै स्वदेशमै अवसर विस्तार गर्नु आफ्नो प्राथमिकता रहेको उनको भनाइ थियो।
रुङटाले वर्तमान राजनीतिक परिवेशमा पार्टी संगठनलाई जुझारु, अनुशासित र एकताबद्ध बनाउनु आवश्यक रहेको उल्लेख गर्दै घरदैलो अभियानलाई अझ प्रभावकारी बनाइ प्रत्येक टोलमा प्रत्यक्ष संवाद बढाइने बताए। उनले निर्वाचनलाई जनमत संकलन मात्र नभई जनआवाज सुन्ने र समाधानको स्पष्ट खाका प्रस्तुत गर्ने अवसरका रूपमा व्याख्या गरे।
विकास, सुशासन, रोजगारी, शिक्षा र स्वास्थ्य सुधारलाई केन्द्रमा राख्दै पर्सा–१ लाई समुन्नत र व्यवस्थित क्षेत्र बनाउने लक्ष्य दोहोर्याउँदै उनले युवालाई उद्यमशीलता र स्वरोजगारतर्फ प्रेरित गर्ने, महिलाको सशक्तीकरणलाई संस्थागत गर्ने, कृषि तथा व्यापार क्षेत्रलाई आधुनिक बनाउने र पूर्वाधार निर्माणलाई तीव्रता दिने योजना प्रस्तुत गरे।
जनविश्वासलाई आफ्नो सबैभन्दा ठूलो शक्ति मान्दै त्यसलाई ठोस परिणाममा रूपान्तरण गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
कार्यक्रममा सहभागी नेता–कार्यकर्ताहरूले क्षेत्रका प्रमुख समस्या, जनचासो र चुनावी रणनीतिबारे सुझाव राखेका थिए। संगठन सुदृढीकरण, घरदैलो अभियान विस्तार तथा युवाको सक्रिय परिचालनमार्फत जनसम्पर्क सुदृढ गर्नुपर्नेमा उनीहरूले जोड दिएका थिए।
कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, नेपाल महिला संघकी केन्द्रीय सदस्य किरण सरकार, क्षेत्रीय उपसभापति अनिल सिंह, सचिव हरि यादव, पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, सुरेन्द्र लामिछाने, रामनिवास यादव लगायत नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका नेता, वरिष्ठ कार्यकर्ता तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।