पर्सा पोस्ट, माघ २६ गते, वीरगन्ज ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का उम्मेदवार हरि पन्तले पिपरा, लालपर्सा, भेडिहाइ र सोलखपुरका मतदातासँग भेटघाट तथा घरदैलो कार्यक्रम सञ्चालन गर्नुभएको छ।
भेटघाटका क्रममा स्थानीय मतदाताहरूले पन्तलाई ठाउँ-ठाउँमा टीका-माला र खादा लगाएर स्वागत गरेका थिए। स्वागत गर्दै स्थानीयले मुलुकको अबको आशाको केन्द्र रास्वपा नै भएको उल्लेख गर्दै यसपटकको निर्वाचनमा पर्सा–१ बाट रास्वपालाई जिताएर पठाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
घरदैलोका क्रममा उम्मेदवार पन्तसँग स्थानीय नागरिकहरूले क्षेत्रका विभिन्न समस्या तथा गुनासोहरू समेत राखेका थिए। पन्तले जनताका समस्या समाधानलाई आफ्नो प्रमुख प्राथमिकता रहने बताउनुभएको थियो।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ता, स्थानीय युवा, महिला तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।