पर्सा पोस्ट, माघ २२ गते, वीरगञ्ज।
वीरगञ्जका लागि iCAUR को आधिकारिक विक्रेता दर्शी अटोमोबाइल्स प्रालिले बहुप्रतीक्षित iCAUR V23 लाइफस्टाइल इलेक्ट्रिक SUV लाई आधिकारिक रूपमा वीरगञ्जमा सार्वजनिक गरेको छ। वीरगञ्जस्थित ओमोडा एण्ड जेको (Omoda & Jaecoo) शोरूममा आयोजित विशेष समारोहबीच उक्त गाडीको औपचारिक अनावरण गरिएको हो।
यस सार्वजनिक कार्यक्रमसँगै मधेस प्रदेशमा प्रिमियम तथा उच्च प्रदर्शन क्षमताका विद्युतीय सवारी साधनको विस्तारमा एक महत्वपूर्ण उपलब्धि थपिएको आयोजकले जनाएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको उपस्थिति रहेको थियो।
कार्यक्रममा दर्शी अटोमोबाइल्स प्रालिका निर्देशकहरू, सञ्चारकर्मी, ग्राहकहरू तथा SPG अटोमोबाइल्स प्रालिका नेतृत्वदायी व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अटोमोबाइलप्रेमी तथा वातावरणप्रति सचेत ग्राहकहरूको बाक्लो उपस्थिति देखिएको कार्यक्रममा विद्युतीय सवारीको बढ्दो लोकप्रियता झल्किएको थियो।
कार्यक्रममा वक्ताहरूले विद्युतीय सवारी साधनले वातावरण संरक्षण, इन्धन खर्च कटौती र दिगो यातायात प्रणाली निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनीहरूले पेट्रोलियम पदार्थको मूल्य दिनानुदिन बढ्दै गएको सन्दर्भमा अब विद्युतीय गाडी नै दीर्घकालीन र व्यवहारिक विकल्प बनेको उल्लेख गरे।
“Born to Play” भन्ने विश्वव्यापी अवधारणामा आधारित iCAUR V23 एक रेट्रो-प्रेरित, पूर्ण विद्युतीय अफ–रोड SUV हो, जसले क्लासिक रग्ड डिजाइन र अत्याधुनिक प्रविधिको उत्कृष्ट संयोजन प्रस्तुत गर्दछ। कम्पनीले ४९.९९ लाख रुपैयाँ मूल्य तोकेको iCAUR V23 लाई पेट्रोल तथा डिजेल सवारी साधनको शक्तिशाली, दिगो र स्टाइलिश विकल्पका रूपमा प्रस्तुत गरेको छ।
प्राविधिक रूपमा, iCAUR V23 मा ५९.९३ kWh क्षमताको LFP ब्याट्री र १०० किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले एक पटकको फुल चार्जमा ४०१ किलोमिटर (CLTC) सम्मको रेन्ज दिने दाबी गरिएको छ।
क्लासिक गोलो हेडलाइट, २१० एमएम ग्राउन्ड क्लियरेन्स र आकर्षक बक्सी (Boxy) डिजाइनले यसलाई शहरी सडकदेखि अफ–रोड यात्रासम्म उपयुक्त बनाएको छ। भित्री सुविधातर्फ, यसमा १५.४ इन्चको प्रिमियम इन्फोटेनमेन्ट डिस्प्ले, आधुनिक डिजिटल इन्टरफेस तथा लेभल–२ ADAS (Advanced Driver Assistance System) सुरक्षात्मक फिचरहरू समावेश छन्। पछाडिका सिटहरू फोल्ड गर्दा ७४४ लिटरको विशाल ट्रंक स्पेस उपलब्ध हुने भएकाले पारिवारिक तथा साहसिक यात्राका लागि यो SUV उपयुक्त मानिएको छ।
प्रिमियम लाइफस्टाइल इलेक्ट्रिक SUV सेगमेन्टमा प्रतिस्पर्धात्मक रूपमा प्रस्तुत गरिएको iCAUR V23 को डेलिभरी, पहिले नै प्रि–बुकिङ गरेका ग्राहकहरूका लागि SPG अटोमोबाइल्स प्रालिको नेपालभर रहेको आधिकारिक डिलर नेटवर्कमार्फत तत्काल सुरु गरिने कम्पनीले जनाएको छ।
आयोजकका अनुसार, पेट्रोलको विकल्पका रूपमा विद्युतीय सवारी साधनको माग नेपालमा दिनानुदिन बढ्दै गएको छ र आगामी दिनमा विद्युतीय गाडी बाहेक अन्य विकल्प दीर्घकालीन रूपमा टिकाउ नहुने उनीहरूको ठहर रहेको छ। iCAUR V23 ले मधेस प्रदेशसहित नेपालमा विद्युतीय सवारी साधनको नयाँ अनुभव र स्तर स्थापित गर्ने अपेक्षा गरिएको छ।V