जेन- जी हत्यारा र भ्रष्टाचारीसँग प्रधानमन्त्रीको हिमचिम बढेको आजपा अध्यक्ष प्रभु साहको आरोप

Date:

पर्सा पोस्ट , पुस २८ गते , बिरगंज ।
आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पछिल्लो समय जेन–जी आन्दोलनका हत्यारा र भ्रष्टाचारीहरूसँग प्रधानमन्त्री सुशीला कार्कीको हिमचिम बढ्दै गएको आरोप लगाएका छन् । उनले जेन–जी आन्दोलनका हत्यारा र भ्रष्टाचारीलाई कहिले कारबाही हुन्छ भन्दै सरकारसँग प्रश्न समेत गरेका छन् ।

आजपाद्वारा सोमबार पर्सा क्षेत्र नं. ३ अन्तर्गत पोखरियामा आयोजित क्षेत्रीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको “मुखै हेर्दिन” भन्ने प्रधानमन्त्रीले अहिले घण्टौं बालुवाटारमा बसेर चिया–गफ गरिरहेको टिप्पणी गरे ।
गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका हत्यारालाई अहिलेसम्म कारबाही नगरेको भन्दै उनले हत्यारासँग चिया पार्टी गरेर शहीद परिवारले न्याय नपाउने बताए । जेन–जी शहीद परिवार र आन्दोलनकारीहरूले हत्यारा र भ्रष्टाचारीलाई कारबाही कहिले हुन्छ भनेर दैनिक प्रश्न गरिरहेका बेला प्रधानमन्त्री भने उही व्यक्तिहरूसँग भेटघाटमै व्यस्त रहेको उनको आरोप छ ।

अध्यक्ष साहले जेन–जी आन्दोलनको रापतापमा बलपूर्वक तथा षड्यन्त्रमूलक तवरले देशको नेतृत्वमा पुगेकी सुशीला कार्कीलाई आन्दोलनको “हाइज्याकर” को संज्ञा दिए । साथै, जेन–जी आन्दोलनमा बल प्रयोग गर्ने कांग्रेस र एमाले दुवैलाई उनले दमनकारी दलको संज्ञा दिए । आन्दोलनको हाइज्याकर र दमनकारीबीचको अस्वभाविक उठबसले जेन–जी जनविद्रोहलाई गिज्याउने काम भएको उनको आरोप थियो ।

उनले पछिल्लो समय नेपाली नागरिकता त्याग्ने, जनताले पसिना बगाएर कमाएको पैसा ठग्ने, लुट्ने तथा अनाडी र भ्रष्ट व्यक्तिहरूबाट मुलुकको संकट समाधान हुन नसक्ने बताए । वर्तमान व्यवस्था र संविधान नै मुलुकको मुख्य समस्या भएको भन्दै यसको खारेजीबाट मात्र देश सही दिशामा अघि बढ्न सक्ने उनको दाबी छ ।

देशलाई दलतन्त्र, नेतातन्त्र र लुटतन्त्रबाट बाहिर निकाल्न आजपाले सुरुदेखि नै संघर्ष गर्दै आएको उल्लेख गर्दै अध्यक्ष साहले आफ्नो पार्टी सधैं जनताको पक्षमा उभिएको बताए । खराब संविधान र खराब व्यवस्थाका कारण मुलुकको अवस्था झनै खराब भएको भन्दै अहिलेको संविधानले देशलाई कुनै पनि हालतमा निकास नदिने ठोकुवा गरे ।

यस्तै, सरकारपिच्छे हुने मनोमानी कर आतंक र भन्सारको नाममा भइरहेको लुटका कारण मुलुकको अर्थतन्त्र ध्वस्त भएको उनले बताए । तराई–मधेसका सीमावर्ती क्षेत्रमा सरकारको गलत कार्यशैली र पुरस्कारको नाममा दिइने दुःखले नेपाली नागरिक मर्कामा परेको भन्दै यस्ता गतिविधि तत्काल रोक्न उनले सरकारलाई आग्रह गरे ।

कुनै पनि बहानामा निर्वाचन सार्ने षड्यन्त्र नगर्न प्रधानमन्त्रीलाई चेतावनी दिँदै साहले तोकिएकै मिति २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन हुनुपर्नेमा जोड दिए । कुनै दलको आन्तरिक कलह, महाधिवेशन वा अन्य कारण देखाएर चुनाव सारिए नेपाली जनता प्रतिकारमा उत्रिने उनले चेतावनी दिए ।

‘भ्रष्टाचारीलाई खबरदारी तथा लघुवित्त पीडितलाई न्याय दिलाउन’ आयोजना गरिएको उक्त भेलाले निर्वाचन परिचालन सम्बन्धी महत्वपूर्ण निर्णयहरू समेत गरेको छ । आजपा नेता शिव साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लघुवित्त पीडितहरूको न्यायका लागि संघर्षरत मणिराम ज्ञवालीलगायतको विशेष सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...