पर्सा पोस्ट , पौष २७ गते , बिरगंज ।
विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर कार्यसमितिले आइतबार नवनियुक्त हिन्दू पत्रकार संघ, नेपालका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई भव्य समारोहका बीच नागरिक अभिनन्दन तथा सम्मान गरेको छ।
वीरगञ्जस्थित रानीसती धर्मशालामा आयोजित कार्यक्रममा हिन्दू धर्म, संस्कृति तथा राष्ट्रियताको संरक्षणमा सञ्चार जगत्को भूमिकाबारे गहन छलफल गरिएको थियो। कार्यक्रममा विशिष्ट अतिथि एवं विश्व हिन्दू परिषद् मधेस प्रदेशका उपाध्यक्ष सुनिल खेतानले नवनियुक्त पत्रकारहरूलाई टीका र गमछा ओढाएर सम्मान गर्नुभयो।
सम्मान कार्यक्रममा बोल्दै उपाध्यक्ष खेतानले सामाजिक सञ्जालमार्फत हिन्दू धर्मविरुद्ध हुने अभद्र टिप्पणी तथा योजनाबद्ध मिडिया ट्रायलविरुद्ध सशक्त रूपमा उभिन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “हिन्दूहरूको आस्थामाथि प्रहार गर्ने तत्वहरू सक्रिय छन्। अब हिन्दू पत्रकार संघले यस्ता भ्रमहरू चिर्दै सत्यको पक्षमा मजबुत आवाज उठाउनुपर्छ। यस अभियानमा विश्व हिन्दू परिषद् सधैँ तपाईंहरूको साथमा रहनेछ।”
कार्यक्रमका प्रमुख अतिथि एवं हिन्दू पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष राजन रौनियारले संघको उद्देश्य स्पष्ट पार्दै संगठन कुनै पनि जाति वा समुदायको विरोधमा नभई हिन्दू धर्मको प्रचार–प्रसार तथा ओझेलमा परेका धार्मिक र पर्यटकीय स्थलहरूको उत्थानका लागि स्थापना गरिएको बताउनुभयो।
उहाँले भन्नुभयो, “पत्रकारको पहिलो धर्म न्याय हो। जाति वा धर्म जे भए पनि पीडितको पक्षमा उभिनु हाम्रो कर्तव्य हो। मठ–मन्दिर, संस्कृति र सत्यको संरक्षणमा हामी सधैँ अडिग रहनेछौँ।”
नगर अध्यक्ष ज्योति रुंगटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दीप प्रज्वलन गर्दै सनातन पद्धतिको सम्मान गरिएको थियो। कार्यक्रममा वीरगञ्जका प्रतिष्ठित उद्योगी, नागरिक समाजका प्रतिनिधि, महिला सञ्चारकर्मी तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सहभागीहरूले हिन्दू पत्रकार संघको उदयले मधेस प्रदेशसहित देशभर धार्मिक पत्रकारितामा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका