पर्सा पोस्ट, पुष १० गते, रक्सौल।
शहरको मुख्य मार्गस्थित हजारीमल हाई स्कूल परिसरमा शारदा कला केन्द्र र राइज एनजीओको आयोजना तथा सहकार्यमा बुधबार ‘फन फेयर–२०२५’ भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन मुख्य अतिथि स्थानीय विधायक प्रमोद कुमार सिन्हा, विशिष्ट अतिथि एसडीएम मनीष कुमार, नगर कार्यपालिकाका पदाधिकारी मनीष आनंद, उपसभापति पुष्पा देवीलगायत अन्य गणमान्य व्यक्तिहरूले संयुक्त रूपमा दीप प्रज्वलन गरी गरेका थिए। कार्यक्रम गणेश वन्दनासँगै सुरु गरिएको थियो।
शारदा कला केन्द्र र ग्रो जीनियस प्ले स्कूलका विद्यार्थीहरूले प्रस्तुत गरेका रंगीन सांस्कृतिक कार्यक्रमहरूले उपस्थित दर्शकहरूको मन जितेका थिए। मेलामा विभिन्न खेलकुद सामग्रीसहित पावभाजी, मोमोज, पानीपुरी, स्न्याक्स तथा चियाका स्टलहरू आकर्षणको केन्द्र बनेका थिए।
मेलाको विशेष आकर्षणका रूपमा नि:शुल्क स्वास्थ्य जाँच स्टल सञ्चालन गरिएको थियो, जहाँ हर्बल चिकित्सा पद्धतिबाट स्वास्थ्य परीक्षण तथा चिकित्सीय परामर्श प्रदान गरिएको थियो।
बालबालिकाहरू झूला, क्ले आर्ट तथा विभिन्न सिर्जनात्मक गतिविधिहरूमा रमाएका देखिन्थे। साथै डान्स प्रतियोगिता र लकी ड्रो कार्यक्रममार्फत विजेताहरूलाई पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै विधायक प्रमोद कुमार सिन्हाले शारदा कला केन्द्रकी संचालिका शिखारंजनको प्रयासको खुलेर प्रशंसा गर्दै भारतीय कला र संस्कृतिमार्फत बालबालिकाको सर्वाङ्गीण विकासमा उनले पुर्याएको योगदान सराहनीय रहेको बताए।
कार्यक्रमको समापनमा संचालिका शिखारंजनले सम्पूर्ण अतिथि, स्पोन्सर तथा दर्शकप्रति आभार व्यक्त गर्दै आगामी वर्ष फन फेयरलाई अझै भव्य र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिन्। कार्यक्रमको सञ्चालन अमित उपाध्यायले गरेका थिए।