पर्सा पोस्ट, पौष १० गते, बारा।
जगदम्बा स्टील्स लिमिटेड सिमरामा कार्यरत मजदुरहरूले आर्थिक वर्ष २०८०/०८१ को सम्झौताअनुसार पाउनुपर्ने बोनस हालसम्म नपाएको भन्दै आधिकारिक ट्रेड युनियनले कडा असन्तोष व्यक्त गरेको छ।
नेपाल औद्योगिक मजदुर संघसँग आबद्ध मजदुर युनियनले सिमरामा पत्रकार सम्मेलनको आयोजना गर्दै उद्योग व्यवस्थापनको गैरजिम्मेवार रवैयाका कारण श्रमिकहरू गम्भीर समस्यामा परेको जनाएको हो। युनियनका अनुसार बोनस नपाउँदा मजदुरहरूले दसैं–तिहारजस्ता महत्वपूर्ण चाडपर्वसमेत उचित रूपमा मनाउन नपाएको अवस्था सिर्जना भएको छ। पटक–पटक ध्यानाकर्षण गराउँदा पनि व्यवस्थापनले बेवास्ता गरेको आरोप लगाइएको छ।
युनियनले करिब तीन महिनादेखि उद्योग व्यवस्थापन नै उद्योग परिसरमा अनुपस्थित रहँदा श्रम ऐनविपरीत गतिविधि बढेको दाबी गरेको छ। ठेकेदारमार्फत काम लगाइएका श्रमिकलाई न्यूनतम पारिश्रमिक नदिएको, सामाजिक सुरक्षा कोषमा कम्पनीले थप गर्नुपर्ने २० प्रतिशत योगदान नगरेको तथा व्यवसायजन्य सुरक्षा व्यवस्था नहुँदा दुर्घटनासमेत भएको आरोप लगाइएको छ।
समस्या तत्काल समाधान नभए पुष १० गतेसम्म मागहरू पूरा नगरे उद्योगको सम्पूर्ण कामकाज ठप्प पार्ने चेतावनी युनियन अध्यक्ष दीपक कार्कीले दिएका छन्।
कार्यक्रममा स्थानीय विभिन्न राजनीतिक दलका नगरस्तरीय नेताहरूले मजदुरका जायज मागप्रति ऐक्यबद्धता जनाउँदै उद्योग व्यवस्थापनलाई तत्काल समस्या समाधान गर्न आग्रह गरेका थिए।