पर्सा पोस्ट, असोज ११ गते, बिरगंज । बिरगंजको नारायणी अस्पताल परिसरमा हरेक शनिबार सञ्चालन हुँदै आएको निःशुल्क भोजन शिविर आजबाट पुनः सुरु भएको छ।

हैजाको महामारीका कारण करिब तीन हप्तादेखि रोकिएको उक्त शिविरलाई वीरगन्ज समाज सेवाले पुनः सञ्चालनमा ल्याएको हो।
शनिबार बिहान ९ बजेदेखि सञ्चालन भएको शिविरमा करिब ४५० देखि ५०० जना सर्वसाधारण, अस्पतालमा भर्ना भएका बिरामी तथा कुरुवा, रिक्साचालक, टेम्पो चालक, गरीब तथा असहाय व्यक्तिहरूले निःशुल्क भोजन ग्रहण गरेका थिए।

समाज सेवाका सचिव प्रकाश बाहेतीका अनुसार आजको भोजनमा भात, दाल, आलु, चनाको दाल, परवल मिक्स सब्जी, सलाद र हरियो खुर्सानीको व्यवस्था गरिएको थियो। संस्थाले यस शिविरको उद्देश्य अस्पतालमा उपचाररत बिरामी र उनका कुरुवाहरूलाई सहयोग पुर्याउनुका साथै दैनिक श्रमिक, निमुखा र असहाय व्यक्तिहरूलाई पौष्टिक खाना उपलब्ध गराउनु रहेको जनाएको छ।

आजको शिविरमा वीरगन्ज समाज सेवा अध्यक्ष अशोक गुप्ता, सचिव प्रकाश बाहेती, सदस्यहरू अभिलाष गुप्ता, लालबाबू सिंह, राजेन्द्र भट्टराई लगायतका पदाधिकारीहरूको विशेष उपस्थिति थियो।
उनीहरूले निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाइने बताएका छन्।