पर्सा पोस्ट, असोज १० गते, बिरगंज ।
दशैंको अवसरमा वीरगन्ज कपडा बैंकले शुक्रबार वीरगन्जको घण्टाघर क्षेत्रमा नि:शुल्क कपडा वितरण गरेको छ।
नियमित रूपमा आफ्नो कार्यालय वीरगन्ज–८ बाट गरीब तथा असहायलाई हरेक आइतबारदेखि शुक्रबारसम्म बिहान १०:३० बजेदेखि दिउँसो ५ बजेसम्म कपडा उपलब्ध गराउँदै आएको बैंकले यस पटक विशेष कार्यक्रममार्फत करिब ९५० थान नयाँ तथा पुराना कपडा वितरण गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि तथा संस्थाका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले मानवतामूलक सेवामा सबैले आफ्नो आम्दानीको केही हिस्सा असहाय तथा विपन्न वर्गको सेवामा खर्च गर्नुपर्नेमा जोड दिए। उनले दशैंलाई आपसी एकता, सद्भाव र भाईचारा बलियो बनाउने पर्व भएको बताउँदै सबैलाई खुसी, उमंग र शान्तिपूर्वक मनाउन आग्रह गरे।

वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षता तथा वरिष्ठ सल्लाहकार अधिवक्ता प्रकाश उपाध्याय, समाजसेवी गौरी गुप्ता, युवा समाजसेवी हुकुम सिंह राजपुत, श्रवण बहादुर रायमाझी, रुपशिला जैसवाल, घण्टाघर प्रहरी पोष्टका प्रमुख असईराम बिनोद झा लगायतको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा पत्रकार, पदाधिकारी तथा विभिन्न सामाजिक अभियन्ताहरूको पनि सक्रिय सहभागिता रहेको सचिव कन्हैया पटेलले जानकारी दिए।

विशिष्ट अतिथि अधिवक्ता प्रकाश उपाध्यायले चाडपर्वमा नयाँ लुगा किन्न नसक्ने विपन्न परिवारलाई नयाँ वा नयाँ जस्तै कपडा उपलब्ध गराउनु सबैको सामाजिक जिम्मेवारी भएको बताए। उनले बैंकको अभियानलाई अझ मजबुत बनाउन सबैले हातेमालो गर्नुपर्नेमा जोड दिँदै दशैंको शुभकामना दिए।
सो अवसरमा अध्यक्ष सिंहले कपडा बैंकलाई निरन्तर सहयोग गर्ने दाता, सुभेच्छुक, सञ्चारकर्मी, सल्लाहकार तथा पदाधिकारी सदस्यहरूलाई आभार व्यक्त गर्दै देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई दशैंको शुभकामना दिएका थिए।