पर्सा पोस्ट, असोज ९ गते, बिरगंज । बिरगंज रेल्वेरोड रामटोलस्थित कंचनजंघा स्कुलले वीरगञ्ज कपडा बैंकलाई कपडा र नगद सहयोग गरेको छ । स्कुलका निर्देशक मार्टिन मोक्तानको नेतृत्वमा मंगलबार ११ बोरा कपडा र २ हजार नगद वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहलाई हस्तान्तरण गरिएको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा स्कुलका निर्देशक मार्टिन मोक्तानसँगै कक्षा १० का विद्यार्थीहरु सुप्रिया घिमिरे, साक्षी गुप्ता, स्वेता साह, मन्नु साह, युवराज मित्तल, यश साह, वीरगञ्ज कपडा बैंकका सल्लाहकार अधिवक्ता प्रकाश उपाध्याय, सदस्यहरु निला कुमारी राम, नवराज भट्टराई, कर्मचारी शोभा देवी लगायतको उपस्थिति थियो ।
सो अवसरमा निर्देशक मोक्तानले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुबाट संकलित सहयोग वीरगञ्ज कपडा बैंकलाई हस्तान्तरण गरिएको बताउँदै, बैंकले विगत केही वर्षदेखि असहाय, विपन्न, आगलागी तथा बाढीपीडितहरुलाई निस्वार्थ सेवाभावका साथ सहयोग गर्दै आएकोमा खुशी व्यक्त गरे । उनले आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा कपडा बैंकका सल्लाहकार प्रकाश उपाध्यायले “तपाईंसँग धेरै छ भने दिनुस, छैन भने हामीसँग लिनुस” भन्ने मूलमन्त्रसहित ६ वर्षदेखि कपडा बैंकले सेवा प्रवाह गर्दै आएको जानकारी दिए । उनले स्कुल परिवारलाई निरन्तर सामाजिक सेवामा सक्रिय रहँदै आएकोमा धन्यवाद व्यक्त गरे ।
त्यसैगरी, अध्यक्ष सिंहले कंचनजंघा स्कुलले विगतदेखि नै सामाजिक उत्तरदायित्वबोधसहित सहयोग गर्दै आएको उल्लेख गर्दै यस कदमले विद्यार्थीहरुमा समाजसेवाप्रतिको भावना विकास हुने बताए । साथै, कपडा एवं नगद सहयोग गरेकोमा स्कुल परिवारप्रति आभार प्रकट गरे ।