पर्सा पोस्ट, भदौ १८ गते, वीरगञ्ज ।
श्री आदर्श माध्यमिक विद्यालय, आदर्शनगर वीरगञ्जमा विद्यार्थीहरूको पदस्थापना (Investiture) तथा ब्याज वितरण समारोह सम्पन्न भएको छ। समारोहमा विद्यालयका विभिन्न हाउसका क्याप्टेन तथा कक्षा मनिटरहरूलाई पदस्थापना गराउँदै नेतृत्व, अनुशासन र जिम्मेवारीबोधलाई आत्मसात् गर्न आग्रह गरिएको छ।
विद्यालयका प्रधानाध्यापक राम विनोद पाण्डेको अध्यक्षतामा सम्पन्न समारोहमा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा वरिष्ठ उद्योगपति गणेश लाठ, बीपीसी कलेजका हरि रत्न तुलाधर, डा. बासु कर्ण, डा. अरविन्द श्रेष्ठ, मानव सेवा आश्रम वीरगञ्जका देवेश गुप्ता, ओमकुमार झा लगायत सञ्चारकर्मी, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
समारोहका क्रममा विद्यालयका विभिन्न हाउसका क्याप्टेन तथा कक्षा मनिटरहरूलाई प्रमुख अतिथि चौधरीसहित विशिष्ट अतिथिहरूले ब्याज वितरण गरी पदस्थापना गराएका थिए। पदस्थापित विद्यार्थीहरूलाई आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धतासहित सपथसमेत गराइएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सरोज प्रसाद चौधरीले विद्यार्थी जीवनमै नेतृत्व क्षमता, अनुशासन र जिम्मेवारीबोधको विकास हुनु आवश्यक रहेको बताए।
विद्यालयले पढाइसँगै विद्यार्थीलाई नेतृत्व विकासको अवसर प्रदान गर्नु सकारात्मक पक्ष भएको उल्लेख गर्दै उनले पदस्थापित विद्यार्थीहरूले प्राप्त जिम्मेवारीलाई अनुशासन र इमानदारीका साथ पूरा गर्नुपर्नेमा जोड दिए।
“विद्यार्थीहरू भविष्यका कर्णधार हुन्। नेतृत्व भनेको पद प्राप्त गर्नु मात्र होइन, जिम्मेवारी बहन गर्नु पनि हो,” चौधरीले भने, “आज पदस्थापित भएका विद्यार्थीहरूले अनुशासन, इमानदारी र सहकार्यको भावनासहित आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ।”
उनले विद्यार्थीहरूले आफूले पाएको जिम्मेवारीलाई विद्यालयको अनुशासन, शैक्षिक वातावरण र सहपाठीहरूको हितमा उपयोग गर्नुपर्ने बताए। विद्यार्थीको व्यक्तित्व विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि गर्न विद्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो।
समारोहमा सहभागी अतिथिहरूले पदस्थापित विद्यार्थीहरूलाई शुभकामना दिँदै नेतृत्व गर्दा सबैप्रति समान व्यवहार गर्न, शिक्षक तथा अभिभावकको सम्मान गर्न र विद्यालयको गरिमा कायम राख्न आग्रह गरे।
विद्यालयका प्रधानाध्यापक राम विनोद पाण्डेले विद्यार्थीहरूको क्षमता तथा नेतृत्व विकासका लागि विद्यालयले अतिरिक्त क्रियाकलापसँगै विभिन्न जिम्मेवारी प्रदान गर्दै आएको बताए। पदस्थापित विद्यार्थीहरूले विद्यालयको अनुशासन तथा शैक्षिक वातावरणलाई थप प्रभावकारी बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास उनले व्यक्त गरे।
विद्यालयले विद्यार्थीहरूमा नेतृत्व क्षमता, आत्मविश्वास, अनुशासन, सहकार्य तथा सामूहिक जिम्मेवारीको भावना विकास गर्ने उद्देश्यले पदस्थापना तथा ब्याज वितरण समारोह आयोजना गरेको जनाएको छ।
समारोह विद्यालय परिवार, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको सक्रिय सहभागितामा सम्पन्न भएको थियो।