बिन्दवासिनी चोकमा दुर्गन्धित कुखुराको मासु बिक्री भएको गुनासो , तत्काल अनुगमन र कडा कारवाहीको माग

Date:

पर्सा पोस्ट, साउन ०३ गते, वीरगञ्ज ।
वीरगञ्ज महानगरपालिका–स्थित बिन्दवासिनी चोक क्षेत्रमा सञ्चालित केही कुखुरा मासु पसलहरूमा दुर्गन्धित तथा गुणस्तरहीन मासु बिक्री–वितरण भइरहेको भन्दै स्थानीय उपभोक्ताले गम्भीर गुनासो गरेका छन्। उपभोक्ताहरूका अनुसार बिहान काटिएको कुखुराको मासु साँझसम्म खुला रूपमा राखेर बिक्री गरिँदा मासुबाट दुर्गन्ध आउने गरेको छ, जसले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष जोखिम निम्त्याएको उनीहरूको भनाइ छ।

स्थानीयवासीका अनुसार मासु बिक्री गर्ने अधिकांश पसलमा खाद्य स्वच्छता, सरसफाइ, उचित तापक्रममा भण्डारण तथा गुणस्तर कायम गर्ने न्यूनतम मापदण्डसमेत पालना नभएको देखिएको छ। खुला रूपमा राखिएको मासुमा धुलो, झिँगा तथा अन्य प्रदूषण मिसिन सक्ने भएकाले यस्ता गतिविधिले खाद्यजन्य रोग फैलिन सक्ने जोखिम बढेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्।

उपभोक्ताहरूले सम्बन्धित निकायले नियमित रूपमा अनुगमन नगर्दा यस्ता व्यवसायीहरू थप निरंकुश बन्दै गएको आरोप लगाएका छन्। स्थानीय तह, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पशु सेवा तथा पशु स्वास्थ्य सम्बन्धी निकायले समयमै प्रभावकारी अनुगमन नगर्नु गैरजिम्मेवार कार्य भएको उनीहरूको भनाइ छ।

यस्तै, केही स्थानीयले भारतबाट अवैध रूपमा कुखुरा भित्र्याइने गरेको आशंका समेत व्यक्त गरेका छन्। यद्यपि, यस विषयमा सम्बन्धित निकायबाट आधिकारिक पुष्टि भने भएको छैन। विगतका वर्षहरूमा पर्सा जिल्लामा भारतबाट कुखुरा तथा कुखुराजन्य वस्तुको अवैध आयात रोक्न प्रशासनले विभिन्न अभियान सञ्चालन गर्दै आएको भए पनि स्थानीयले अहिले पनि प्रभावकारी नियन्त्रण हुन नसकेको गुनासो गरेका छन्।

यसैबीच, उपभोक्ता हित संरक्षण मञ्च नेपाल , पर्साले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य वस्तुमा लापरवाही गर्ने व्यवसायीमाथि कुनै पनि हालतमा छुट दिन नहुने जनाएको छ। मञ्चले खाद्य स्वच्छता मापदण्ड विपरीत गुणस्तरहीन, बिग्रिएको वा दुर्गन्धित मासु बिक्री–वितरण गर्ने व्यवसायीलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कडा भन्दा कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।

मञ्चले स्थानीय सरकार, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पशु स्वास्थ्य सेवा कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित नियामक निकायलाई बिन्दवासिनी चोक क्षेत्रका मासु पसलहरूको तत्काल संयुक्त अनुगमन गरी दोषी देखिएका व्यवसायीलाई कानुनी दायरामा ल्याउन तथा उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने कार्य तत्काल रोक्न आग्रह गरेको छ।

उपभोक्ताहरूले खाद्य स्वच्छता र गुणस्तरमा कुनै सम्झौता नगरी स्वस्थ, सुरक्षित र मापदण्डअनुसारको मासु मात्र बिक्री–वितरण हुने वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायले नियमित अनुगमन, कडा नियमन र प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूको भनाइमा उपभोक्ताको जीवन र स्वास्थ्यभन्दा ठूलो कुनै व्यापारिक स्वार्थ हुन सक्दैन, त्यसैले खाद्य सुरक्षासँग जोडिएका यस्ता विषयमा राज्यले शून्य सहनशीलताको नीति अवलम्बन गर्न आवश्यक छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

विद्यालयबाटै उपभोक्ता शिक्षा : बर्दघाटका २६ विद्यालयमा सचेतना अभियान

पर्सा पोस्ट , असोज २० गते , बर्दघाट । उपभोक्ताको...

बिरगंज कपडा बैंकद्वारा नयाँ तथा पुराना ५ सय ५० थान कपडा बितरण

पर्सा पोस्ट , असोज १८ गते , वीरगन्ज । वीरगन्ज...

सामाजिक शिक्षा विषयको एकदिने शिक्षक तालिम भव्यताका साथ सम्पन्न

पर्सा पोस्ट ,  असोज १८ गते , वीरगञ्ज । नेसनल...