तीन महिनापछि अस्ट्रेलियाबाट स्वदेश ल्याइयो राकेश पटेलको पार्शिव शरीर , आज चैनपुरमा अन्त्येष्टि

Date:

पर्सा पोस्ट | साउन ०२ गते | वीरगञ्ज।
पर्सागढी नगरपालिका–७ चैनपुर निवासी स्वर्गीय राकेश कुमार पटेलको पार्थिव शरीर करिब तीन महिनापछि शुक्रबार राति अस्ट्रेलियाबाट नेपाल ल्याइएको छ। विभिन्न कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्न समय लागेका कारण ढिलाइ भए पनि अन्ततः उनको शव काठमाडौँ आइपुगेपछि परिवारजनले बुझेर अन्तिम संस्कारका लागि गृहजिल्ला पर्सा ल्याएका छन्।
२९ वर्षीय पटेल गत चैत २० गते अस्ट्रेलियाको ताज्मानिया स्थित आफ्नै निवासमा मृत अवस्थामा फेला परेका थिए।

रोजगारीका लागि अस्ट्रेलिया पुगेका उनको निधनको कारणबारे हालसम्म विस्तृत आधिकारिक विवरण सार्वजनिक भएको छैन। घटनापछि अस्ट्रेलियास्थित नेपाली दूतावासले परिवारलाई जानकारी गराएको थियो।

छोराको पार्थिव शरीर स्वदेश ल्याइदिन माग गर्दै उनका पिता ब्रिजा राउत कुर्मीले २०८३ वैशाख २३ गते नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए। लामो समयसम्म प्रक्रिया टुंगोमा नपुग्दा परिवार ठूलो मानसिक पीडामा रहेको थियो भने विभिन्न निकायसँग निरन्तर समन्वय र पहल भइरहेको थियो।

यसैबीच, पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य सुशील कुमार कानुले असार १८ गते प्रतिनिधिसभाको बैठकमा उक्त विषय उठाउँदै विदेशमा मृत्यु भएका नेपाली नागरिकको पार्थिव शरीर सम्मानपूर्वक र शीघ्र स्वदेश ल्याउने व्यवस्था प्रभावकारी बनाउन सरकारसँग माग गरेका थिए। संसद्मा विषय उठेपछि परराष्ट्र मन्त्रालयले सम्बन्धित निकाय तथा अस्ट्रेलियास्थित नेपाली दूतावाससँग समन्वयलाई तीव्र बनाएको बताइएको छ।

अस्ट्रेलियामा रहेका नेपाली समुदायले समेत आवश्यक परे आर्थिक सहयोग संकलन गरेर शव स्वदेश पठाउने तयारी गरेका थिए। सरकारी निकाय, नेपाली दूतावास तथा प्रवासी नेपालीहरूको सक्रिय समन्वयपछि पार्थिव शरीर नेपाल ल्याउने प्रक्रिया अन्ततः सफल भएको हो।

शुक्रबार राति काठमाडौँ आइपुगेको पार्थिव शरीर परिवारजनले बुझिसकेका छन्। त्यसपछि अन्तिम श्रद्धाञ्जलीका लागि शव पर्सागढी नगरपालिका–७ चैनपुरस्थित निवासतर्फ लगिएको छ। परिवारका अनुसार शनिबार चैनपुरमै धार्मिक परम्पराअनुसार अन्तिम श्रद्धाञ्जली अर्पण गरी अन्त्येष्टि गरिनेछ।

करिब तीन महिनासम्म अन्तिम दर्शनसमेत गर्न नपाएका परिवारका सदस्यका लागि पार्थिव शरीर स्वदेश आइपुग्नु अत्यन्त भावुक क्षण बनेको छ। आफन्त, शुभेच्छुक तथा स्थानीयवासीले पनि गहिरो दुःख व्यक्त गर्दै स्वर्गीय पटेलप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।

शव स्वदेश ल्याउने प्रक्रियामा सहयोग पुर्‍याउने नेपाल सरकार, परराष्ट्र मन्त्रालय, अस्ट्रेलियास्थित नेपाली दूतावास, प्रतिनिधिसभा सदस्य सुशील कुमार कानु, अस्ट्रेलियामा रहेका नेपाली समुदाय तथा सहयोग गर्ने सम्पूर्ण व्यक्ति र निकायप्रति स्वर्गीय पटेलका परिवारजनले हार्दिक आभार व्यक्त गरेका छन्। साथै, विदेशमा रहेका नेपाली नागरिकको मृत्यु भएमा पार्थिव शरीर शीघ्र स्वदेश ल्याउने प्रक्रियालाई अझ सहज, छिटो र प्रभावकारी बनाउन सरकारले आवश्यक नीतिगत सुधार गर्नुपर्ने आवाज पनि स्थानीय स्तरबाट उठ्न थालेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...

वीरगञ्ज–२ छपकैयाबाट रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...